ad ad

खेल


पीपीएलः काठमाडौंको दोस्रो जितमा भारतीय खेलाडीको उत्कृष्ट प्रदर्शन

पीपीएलः काठमाडौंको दोस्रो जितमा भारतीय खेलाडीको उत्कृष्ट प्रदर्शन

नेपालखबर
पुस ५, २०७६ शनिबार ९:३०,

 भारतीय खेलाडीद्धय जयकिशन कोल्सावाला ब्याटिङमा र सुबोध भाटी बलिङमा चम्केपछि काठमाडौं गोल्डेन्स वारियर्शले पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल)मा दोस्रो जित हात पारेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा विराटनगर टाइटन्समाथि ३६ रनको जित हात पार्दै काठमाडौं अंकतालिकाको दोस्रो स्थामा उक्लिएको हो।

काठमाडौंले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर २ बल बाँकी छँदै १२३ रनमा समेटिएको थियो।

विराटनगरले ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा प्रदीप ऐरीले २९ रनको इनिङ्स खेल्दै पारी सम्हालेका थिए। आठौं ओभरमा सुशान भारीले एलबीडब्लुको सिकार बनाउँदै प्रदीपलाई पवेलियन फर्र्र्काए।

त्यसअघि उसका ओपनरद्धय मोहम्मद जाइद आलाम र सुनिल धमला समान १–१ रनमात्रै बनाउन सकेँ। यस्तै विराटनगरको अन्य मध्यक्रम समेत चलेन। राजु रिजाल १, राजेश पुलामीमगर २ र दीलिप नाथ पनि एक रनमै पवेलियन फर्किए।

छैटौं विकेटका लागि भने पुनित मेहरा र नोमन खानले ७९ रनको साझेदारी गर्दै विराटनगरलाई सो स्कोरमा पुर्याएका हुन्। १९औं ओभरको पहिलो र दोस्रो बलमा नोमन र पुनितलाई लगातार विराटनगरले गुमाएपछि काठमाडौं खेलमा हावी भएको थियो।

१९.१ ओभरमा नोमनलाई ज्ञानेन्द्र मल्ल र भाटीले रन आउट पारे। नोमनले २६ बलमा १ छक्कासहित २५ रन प्रहार गरे। यस्तै अर्को बलमा भाटीले पुनित मेहरालाई एलबिडब्लुको सिकार बनाए। मेहराले ५३ रनको अर्धशतकीय पारी खेले। ३१ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा काठमाडौंका भारतीय खेलाडी सुबोध भाटीले ३ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। यस्तै अमरसिंह रौटेला र बसन्त रेग्मीले समान दुई दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोडेको थियो। कोल्सावालाले ५५ रनको अर्धशतकीय पारी खेले। ४३ बलमा उनले ५ चौका र २ छक्का प्रहार गरे।

ओपनर गौरव तमोरलाई शुन्यमा गुमाएपनि दोस्रो विकेटका लागि जयकिशन कोल्सावाला र अमित श्रेष्ठले ४३ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ्स अघि बढाएका थिए। अमितले १७ रन जोडे। १५ बल खेलेका अमितले २ चौका र १ छक्का प्रहार गर्दै कोल्सावालालाई साथ दिएका थिए।

कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो लय कायम राख्ने क्रममा ४५ रन जोडे। ३३ बल खेलेका ज्ञानेन्द्रले ३ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै सुबोध भाटीले १४ तथा आदिल खान १३ र पवन सर्राफ ५ रनमा नटआउट रहे।

विराटनगरका पुनित मेहराले २ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले १५ रन खर्चे। यस्तै किशोर महतो, जितेन्द्र मुखिया र नोमान खानले समान १–१ विकेट लिए।

पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ। पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .