मेरिलोबन क्रिकेट क्लब(एमसीसी)विरुद्ध काठमाडौंमा जारी तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटको पहिलो इनिङ्समा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ।
बिहीबार दोस्रो दिन पहिलो शत्रमा एमसीसीलाई ३६४ रनमा अलआउट पार्दै आफ्नो इनिङ्सको सुरुवात गरेको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १५३ रनमै सीमित भएको हो।
योसँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रन जोडे। सन्दीप ४ छक्का र २ चौका प्रहार गर्दा त्रिवि क्रिकेट मैदानमा दर्शकहरु उत्साहित बनेका थिए।
अन्तिम विकेटका लागि सन्दीपले ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरे। नेपालले खराब सुरुवात गरेको थियो।ओपनर तथा कप्तान ज्ञोनेन्द्र मल्लले खाता नै खोल्न सकेनन। शरद भेषावकर ४, राजु रिजाल ८, दीपेन्द्रसिंह ऐरी १, आरिफ सेख १० रनमा आउट भए।
विनोद भण्डारी र सोमपाल कामीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा पवेलियन फर्किए। भण्डारीले ५ चौका सहित ३६ रन जोडे। सोमपाल कामी ४ चौका सहित २६ रनमा आउट भए।
नेपालले १४ वर्षपछि बुधबार प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो। सन् २००५ पछि नेपालले त्रिवि क्रिकेट मैदानमा बुधबार विश्व प्रशिद्ध क्लब मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँग प्रथम श्रेणीको क्रिकेट खेलेको हो।
यसै खेलमार्फत कप्तान ज्ञानेन्द्रसँगै टोलीका ९ सदस्यले पहिलोपटक सेतो ड्रेशमा रातो बलसँग प्रथम श्रेणीको क्रिकेट खेले। टोलीमा रहेका शरद भेषावकर र सोमपाल कामीले मात्रै प्रथम श्रेणी क्रिकेट खेलेका थिए। गतवर्ष एकदिवसीय मान्यता पाएपछि एमसीसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आईसीसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको हो।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता नपाएका राष्ट्रका लागि अन्तर महादेशीय कपको नाममा प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो। सन् २००४ मा सुरु भएको यो प्रतियोगिताको नेपालले पहिलो पहिलो दुई संस्करण खेलेपनि त्यसपछि प्रतियोगितामा छनोट हुन सकेन।
सन् २००६ को आईसीसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आईसीसीको पहिलो श्रेणीको क्रिकेट खेलेको छैन।
एमसीसीले यसअघिको नेपाल भ्रमणको पहिलो एकदिवसीय खेलमा यू–१९ टोलीलाई ५ विकेटले पराजित गर्दै नेपाल भ्रमणको सुरुवात गरेको थियो। लगत्तै अर्कोदिन भएको खेलमा नेपाली राष्ट्रिय टोलीले एमसीसी ५ विकेटले पराजित गर्यो।
तीनदिन प्रथम श्रेणीको क्रिकेट खेलेपछि एमसीसीको टोली पोखरा भ्रमणमा निस्कनेछ। पोखरामा पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्ने एमसीसीको कार्यक्रम छ। एमसीसी फाउन्डेशनले विकासिल देशहरुमा भ्रमण गर्ने उदेश्यसहित यो टूरको आयोजना गरेको हो।
प्रतिक्रिया