कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार पहिलो चरणको अन्तिम दिन दुई खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।
दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन्। गत सिजन उपविजेता बनेको आर्मी यो संस्करण च्याम्पियन बन्ने लक्ष्यमा छ।
यो पटक चोटका कारण फरवर्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवास टोली बाहिर छन्।
चार पटकको लिग च्याम्पियन पुलिस क्लव पनि आर्मीलाई पराजित गर्दै सुखद सुरुवातको आसामा छ।
आजै हुने दोस्रो खेलमा अघिल्लो संस्करणको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) सँग खेल्दैछ। खेल सोही मैदानमा अपरान्ह पौने ५ बजे सुरु हुनेछ।
मच्छिन्द्र एनआरटीलाई हराउँदै उपाधि रक्षाको होडमा हुनेछ। एनआरटी भने बलियो टोली मच्छिन्द्रलाई रोक्दै सुखद सुरुवातको आसामा छ।
Shares
प्रतिक्रिया