भ्यालेन्सियामाथि पुनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हरायो। रियलले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ।
रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे। भ्यालेन्सियाका हुगो डुरोले सुरुवाती गोल गरेका थिए। सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भ्यालेन्सियाले ६६औं मिनेटमा खाता खोलेको थियो। हुगो डुरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए।
खेलको सुरुवातदेखि भ्यालेन्सियालाई दबाबमा राखेको रियलले गोलका लागि अन्तिमसम्म कुर्नु परेको थियो। ८६औं मिनेटमा भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। भिनिनियसको जारी लिगमा यो पाँचौं गोल हो।
उनले पाँच खेलमा पाँचै गोल गरेका छन्। दुई मिनेट लगत्यै बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियलको जित पक्का बनाएका थिए। जारी लिगमा ६ गोल गरिसकेका बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा छन्।
६१ प्रतिशत बल पोसेसन राखेको रियलले पहिलो हाफमा राम्रा अवसर खेर फालेको थियो। १८ वटा पोस्ट प्रहार गरेको रियलले अन्तिममा पुगेर कठिन जित निकाल्यो। भ्यालेन्सियाले १२ वटा पोस्ट प्रहार गरेको थियो। ३९ बल पोसेसन राखेको भ्यालेन्सियाको रियललाई रोक्ने प्रयास सफल भएन। रियलका भिनिसियस ‘म्यान अफ दी म्याच’ भए।
जितसँगै शीर्षस्थान कब्जा गरेको रियलले पाँच खेलबाट १३ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ११ अंक छ। रियलसँग पराजित भ्यालेन्सिया १० अंक सहित तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको रियल सोसिडाडको पनि १० अंक छ।
आइतबार राति नै भएको खेलमा रियल सोसिडाड सेभियासँग गोलरहित बरबरीमा रोकिएको थियो। अर्को खेलमा रियल बेटिस र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो।
घरेलु मैदानमा मालोर्का पनि भिल्लारियलसँग गोलरहित बराबरीमा रोकियो। लिग अन्तर्गत सोमबार राति बार्सिलोना र ग्रानाडाबीच प्रतिस्पर्धा हुनेछ।
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो।
हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रसारण भइरहेको छ।
त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नुपर्नेछ। हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।
Shares
प्रतिक्रिया