दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथका लोकेन्द्रसिंह धामी इजरायलमा ज्यान गुमाउने नेपाली विद्यार्थीमध्येकै एक हुन्।
उनी भदौ अन्तिम साता इजरायल हानिएका थिए। शुक्रबार बेलुकासम्म परिवारको सम्पर्कमा रहेका उनको त्यसपछि परिवारसँग सम्पर्क हुन सकेन।
उनी इजरायलविरुद्ध प्यालिस्टिनी विद्रोही समूह हमासको आतंककारी हमलामा परेर मारिए। घटनापछि धामीको हुनैनाथस्थित परिवार पीडामा डुबेको छ।
घर आउने बाटो कुरिरहेका आमाबुवा, श्रीमती, ससाना छोराछोरी विक्षिप्त छन्। परिवारको अवस्था सुधार्न पढाइसँगै कमाइ गर्न विदेशीएको छोरा गुमाउँदा पूरै गाउँ नै शोकमग्न बनेको मालिकार्जुन गाउँपालिका–४ का अध्यक्ष धनसिंह धामीले बताए।
‘लोकेन्द्र धेरै राम्र्रो थियो, मिलेर बस्थ्यो, पढाइमा पनि राम्रो थियो,’ उनले भने, ‘परिवारको आशाको त्यान्द्रो नै टुट्यो, होनहार युवाको त्रासदीपूर्ण मृत्युले पूरै गाउँ रोएको छ।’
लोकेन्द्रको घरमा आमाबुवा, बज्यै, श्रीमती र दुई स–साना छोरी छन्। लोकेन्द्र कान्छा छोरा हुन। उनका दाइ नेपाली सेनामा कार्यरत छन्।
लोकेन्द्र बज्यै, आमाबुवा, दाइसंगै संयुक्त परिवारमा बस्थे। लोकेन्द्रको परिवार निम्नस्तरको हो। उनका बुवा खेतीकिसानी, मजदुरी गर्छन्। हुनैनाथमा थोरै जमिन छ। त्यहाँ हुने उब्जाउँले वर्षभरीलाई खान पनि पुग्दैन। रासन किनेर खानुपर्छ।
‘बुवाले निकै दुःख गरेर पढाउनुभयो, हुर्काउनु भयो, पढेर विदेश गएकोले अब त सुखका दिन आउने सपना साचेका थिए,’ वडाध्यक्ष धामीले भने, ‘तर त्यो घटनाले परिवारको पूरै सपना क्षणभरमै भताभुङ्ग बनाएको छ।’
लोकेन्द्रलाई कृषि वैज्ञानिक भएको हेर्न चाहन्थे, उनका बुवा। तर उनको सपना इजरायलमै अलप भएको छ।
लोकेन्द्र पढाइमा मेधावी थिए। उनले कक्षा १० सम्मको अध्ययन गाउँकै हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुरमा गरेका थिए।
आईएसी एग्रिकल्चर लटिनाथ माध्यमिक विद्यालय चौपाताबाट उत्तिर्ण गरेका उनले बिएससी एग्रिकल्चर टीकापुर कृषि क्याम्पसबाट गरेका थिए।
सुदूरपश्चिम विश्वविद्यालयले ११ महिने लर्न एण्ड अर्न कार्यक्रममा धामीलाई इजरायल पठाएको थियो।
Shares
प्रतिक्रिया