ad ad

समाज


महोत्तरीका विभिन्न बस्तीमा बँदेलले दसैं मनाउन दिएन

महोत्तरीका विभिन्न बस्तीमा बँदेलले दसैं मनाउन दिएन

नेपालखबर
असोज २०, २०७६ सोमबार ५:५६,

बडादसैंमा रमाउने बेलामै जंगली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान चिन्तामा परेका छन्।

दसैं तयारीमा घरतिर व्यस्त रहेका बेला जंगली बँदेलको हुल नै खेतबारीमा पसेर बाली सखाप पार्न थालेपछि स्थानीय किसानले चाडको खुसी मनाउन नपाएका हुन्।

दसैंका बेला जिल्लाका भंगाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतंक बढेको हो।

पछिल्लो ३ दिनयता १०-१२ को संख्यामा बारीमा पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभीको हुर्किंदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भंगाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताए। भंगाहा नगरपालिकाका रामनगर, थारूटोल बनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा जंगली बँदेलको बिगबिगी बढेको छ।

त्यसैगरी बर्दिवासका मनहरीपुर, फुलबारी टोल र पशुपतिनगरमा पनि जंगली बँदेलले तरकारी बाली र केराका थाम उखेलेको पीडित किसानले बताएका छन्। पछिल्लोपटक बँदेलसँगै दुम्सी पनि बस्ती नजिकका उखुघारीमा बढेका पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए।

जिल्लाको गौशाला नगरपालिकाका भरतपुर खोर, बटुवा, लक्ष्मीनियाँ र इँटाटार बस्तीमा बँदेलले बाली निकै नोक्सान गरेको किसानले बताए।

यसबाहेक पूर्वपश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रका बर्दिवास नगरपालिकाका कृष्णपुर, खजुरियाटोल र करमटोकीमा पनि बँदेल बाक्लै पसेका छन्।

उखु र तरकारी खेती गरिने जिल्लाको उत्तरी क्षेत्रमा बँदेल दिनभरि उखुबारीमा लुकेर प्रत्येक रातजसो तरकारी नोक्सान गर्न समूहमा आउने गरेको किसान बताउँछन्।

मिरमिरे उज्यालो नभएसम्म कोभी फाँडेर बँदेल घारी पस्ने गरेको पशुपतिनगरकी किसान शैल महतोले बताए। आफ्नो बस्तीमा दसैं सुरु भएयता मात्र तीन-चार बिघाको कोभी खेती नोक्सान गरेको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालले जानकारी दिए।

बँदेलले बारीमा सबैभन्दा बढी कोभी, लौका र काँक्रा नोक्सान गर्ने गरेको किसानले जानकारी दिए।

बँदेलले झम्टने डरले किसान बाली रुँग्न पनि डराउने गरेका छन्। वन क्षेत्रबाट बस्तीतिर पसेका बँदेल, दुम्सी र नीलगाई औरही नगरपालिकाका चेप्कोट, औरहीबजार नजिकको जंगा नदी किनार र गौशाला नगरपालिकाको भाण्टाबारी, रजखोर, रामनगर, कुष्माढी र बेलगाछीमा छ्यापछ्याप्ती देखिने गरेका छन्।

करिब मध्यरातदेखि बिहान ४ बजेसम्मको समयमा बँदेल आतंक बढेको सर्वसाधारणको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .