नयाँ बानेश्वरस्थित पानस रेमिटको सिस्टमले शंकास्पद कारोबार भएको देखायो। एक कर्मचारीको युजरबाट अस्वभाविक रुपमा १२ लाख रुपैयाँ गएको देखिएपछि रेमिटका प्रबन्धक शंकित भएका थिए। उनले तत्कालै प्रहरीमा फोन गरे। यो २०७६ असोज ५ गते आइतबारको घटना हो।
प्रहरी अनुसन्धान शुरु गर्दा पैसा पठाएकामध्ये ४ जनाले २ लाख ४० हजार रुपैयाँ निकालिसकेका थिए। कृषि विकास बैंकको करिब ५ करोड रुपैयाँ ट्रान्सफर भएको ह्याकिङ प्रकरणको लहरो यहीँबाट सुरु हुन्छ।
प्रहरीले रकम निकाल्ने ती चार जनालाई पछ्यायो। पैसा झिक्न उनीहरुले छोडेको परिचय पत्रका आधारमा तत्कालै पक्राउ पर्यो। उनीहरुले बयानमा भने, ‘लवाङ तामाङको योजनामा काम गरेका हौं। अरु केही थाहा छैन।’
प्रहरी लवाङलाई ठूलो माछो ठान्यो। उनलाइ प्रकाउ गर्न सबै शक्ति केन्द्रित गर्यो।महानगरीय प्रहरी अपराध महाशाखाले शुरुमा रेमिट ह्याक भएको ठानेर काम गरिरहेको थियो। निकै ठूलो कसरतपछि आइतबार मध्य राति लवाङ पक्राउ परे। प्रहरी फन्दामा परेपछि लवाङ अर्को वास्तविकता सार्वजनिक गरे। जुन अझ डरलाग्दो थियो।
‘निकै आत्तिएको उसले आफूसँग थप पैसा भएको बतायो। खोजी गर्दा कृषि विकास बैंकबाट ह्याक भएको भनेर खुल्यो’, अपराध महाशाखाका एसएसपी सहवीर थापा भन्छन्, ‘उसकै बयानबाट कृषि विकास बैंक ह्याकिङ प्रकरणको खुलासा भएको हो।’
लवाङले कृषि विकास बैंकबाट निकालेको ३१ लाख रुपैयाँ आफूसँग रहेको जानकारी प्रहरीलाई दिए। उनले सो रकम सर्लाही, हरिवन नगरपालिका वडा नम्बर २ स्थायी घर भएका पुष्पराज खडकालाई राख्न दिएको जनाए। प्रहरीले खड्का र उनीसँगै काम गर्ने तनहुँ दोर्दीका विद्यासागर लामिछानेलाई पक्राउ गरी अनुसन्धानमा लियो। खड्का र लवाङ दुवै जडिबुटी व्यापारका साझेदार हुन्।
सोमबार बिहानसम्म कृषि विकास बैंकलाई आफ्नो सिस्टमको रकम यताउता भएको कुनै जानकारी थिएन। कार्यालय समय सुरु हुनुभन्दा पहिलै प्रहरीको एउटा समूह रामशाहपथस्थित कृषि विकास बैंक केन्द्रीय कार्यालय पुग्यो। सिस्टम ह्याक भएको खबर दियो। खोजबीन गर्न अनुरोध गर्यो।
प्रहरी जानकारी पछि बैंकले देशभर रहेका आफ्ना २ सय ६७ शाखाहरुको कारोबार अध्ययन थाल्यो। अरु सबै स्वभाविकै थियो सिराहाका लहानस्थित शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ अस्वभाविक रुपमा विभिन्न व्यक्तिको खातामा ट्रान्सफर भएको देखियो। प्रहरीले तत्कालै रकम ट्रान्सफर हुने अकाउन्ट वालाहरुको डिटेल्स निकाल्यो। बैंकले लाहान शाखाका सम्पूर्ण कर्मचारीलाई काममा रोक लगायो।
एसएसपी थापाकाअनुसार यो ह्याकिङ प्रकरणमा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ। उनीहरुले चिनियाँ मेसेजिङ एप वी च्याटमार्फत् गरेको कुराकानीबाट नेपाली बैंकहरूको ५ करोड अमेरिकी डलर अर्थात् ५ अर्ब नेपाली रुपैयाँ ह्याक गर्ने योजना रहेको देखिन्छ।
यो प्रकरणको मुख्य योजनाकार पिटर काले भएको प्रहरी भनाइ छ। नेपाली भाषा राम्रोसँग बुझ्ने उनी हिन्दीमा कुराकानी गर्न समेत सक्छन्। कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नविल बैंकसहितका वित्तीय संस्थाहरुको क्रेडिन्टियल ह्याकिङ गर्ने उनीहरूको योजना देखिएको प्रहरी निष्कर्ष छ।
नेपालीहरुलाई नबिल बैंक, कृषि विकास बैंकमा चल्ती खाता खोल्न लगाएर ह्याकिङ गर्दै आएको प्रहरी भनाइ छ। यी घटनामा संलग्नहरुमध्ये १२ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लवाङका अतिरिक्त लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह, चन्द्रबहादुर बुढा रहेका छन्।
पक्राउमध्ये लवाङ, सुनिता, शुबन्कर पन्जा, विजय साह र चन्द्रबहादुर बुढाको पिटर कालेसँग प्रत्यक्ष सम्पर्क रहेको प्रहरी दाबी छ। ह्याक भएको रकम कृषि विकास बैंकका शाखाहरु नुवाकोट त्रिशुली, काठमाडौं न्युरोड र बालाजु, कैलालीको भजनी शाखाबाट निकालिएको हो।
को कुन पिटर काले ?
पक्राउ १२ मध्ये केहीको सम्बन्ध पिटर कालेसँग भएको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीसँगका बयानमा पिटर कालेसँग सम्पर्क रहेका उनीहरुले भारतको मुम्बइमा बस्ने उनी नेपाली र हिन्दी भाषामा पोख्त रहेको जानकारी गराएका छन्।
उनी नेपाल पनि पटक–पटक आएका व्यक्ति हुन्। उनले नेपाली नागरिकलाई ‘साइबर मुल’का रुपमा प्रयोग गरेको देखिन्छ। ह्याक गरिएको पैसा निकाल्न अपराधीहरुले प्रयोग गर्ने व्यक्तिलाई मुल भनिन्छ।
पिटर कालेले लामो समयदेखि मुम्बाई बसेर नेपालीसँग कमिसनको डिल गरी विभिन्न बैंक तथा वित्तीय संस्थाको ठूलो धनरासी ह्याक गर्ने योजना बनाएको प्रहरीको भनाइ छ।
नेपालीहरुलाई १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने प्रभोलनमा उनीहरुको खाताबाट ह्याक भएको पैसा जम्मा गर्ने र निकाल्ने काम भएको छ। पिटर कालेले ह्याकिङ गरेको बाँकी पैसा हुण्डी गरेर आफ्नोमा पठाउने व्यवस्था उनले मिलाएका थिए।
प्रहरीले पक्राउ परेका मध्ये हुण्डी कारोबारी शुबन्कर पन्जाले दस लाख रुपैयाँ मुम्बई पठाइसकेका थिए। ३१ लाख रुपैयाँ लवाङबाट प्रहरीले बरामद गरेको छ।
लहान शाखाका सबै कर्मचारी परिवर्तन
प्रहरी अनुसन्धानले कृषि विकास ह्याकिङ प्रकरणमा लहानका प्रबन्धक रामसेवक यादवको युजरनेम र चितवन सौराहास्थित शाखाको पासवर्ड प्रयोग गरेको देखाएको छ। कृषि विकास बैंकले ह्याक भएको जानकारी भएपछि लहान शाखामा कार्यरत कर्मचारीलाई अन्य स्थानको कर्मचारी लगेर प्रतिस्थापन गरेको छ। लहान शाखामा ६ कर्मचारी दरबन्दी छ। अहिले त्यहाँ राजविराजस्थित कार्यालयबाट ५ कर्मचारी पठाइएको छ।
कृषि विकास बैंकका सहायक प्रबन्ध निर्देशक दीर्घ अर्यालका अनुसार ह्याकिङमा कर्मचारीको संलग्नता रहे वा नरहेको बारे आन्तरिक अनुसन्धान भइरहेको छ। लहान शाखामा प्रबन्धकको रुपमा रहेको रामसेवक यादवको स्थानमा इन्द्रनारायण साहनीलाई पठाइएको उनले जानकारी दिए।
बैंकको जुन जुन खातामा रकम ट्रान्सफर गरिएको छ तिनमा बैंकको ऋण समेत रहेको उनले बताए। रकम ट्रान्सफर गर्दा एक पटकमा दस लाख रुपैयाँभन्दा कम गरिएको उनले जानकारी दिए। दस लाख रुपैयाँभन्दा बढी रकम डिपोजिट गर्दा वा निकाल्दा स्रोत खुलाउनु पर्ने व्यवस्था छ।
प्रतिक्रिया