ad ad

समाज


दसैंका लागि देशभर ७३ वटा सहुलियत पसल, केमा कति छूट?

दसैंका लागि देशभर ७३ वटा सहुलियत पसल, केमा कति छूट?

नेपालखबर
भदौ २३, २०७६ सोमबार ४:४९,

नजिकिँदै गरेको दसैंलगायत ठूला चाडपर्वलाई लक्ष्य गरेर सरकारले आज(सोमबार)काठमाडौं उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गर्दै छ।

चाडबाडका बेला उपभोक्ता ठगिने कुरालाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका ९ ठाउँसहित देशका मुख्य सहरमा ७३ वटा सहुलियत पसल सञ्चालन गर्ने भएको हो।

यस्ता पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा आउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

वाणिज्य विभागका अनुसार काठमाडौं उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत ९ ठाउँमा सहुलियत पसल हुनेछन्। त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल रहने छन्।

काठमाडौं उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायत मख्य सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन गर्नेछ।

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३, साल्ट ट्रेडिङ कर्पोरेसनले २४ र दुग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन् ।

सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ। त्यस्तै, च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ।

खाद्यले यसपटक २ हजार च्यांग्रा र १ हजार खसी–बोका बिक्री गर्ने लक्ष्य राखेको छ । साल्ट ट्रेडिङले प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिनेछ। दुग्ध विकास संस्थानले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ।

कालीमाटी, जावलाखेल, कोटेश्वर, सूर्यविनायक, बनेपालगायतका कार्यालयमा साल्ट ट्रेडिङले गेडागुडीलगायत चिनी र नुनमा छुट दिनेछ । खाद्य व्यवस्थालले थापाथली, नख्खुलगायतका कार्यालयमा चिनी, फापर र सिमीमा छुट दिनेछ भने खसी-बोका थापाथली कार्यालयमा बिक्रीका लागि राखिनेछ ।

डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्नेछन् । दुग्ध विकास संस्थानले काठमाडौं उपत्यकामा ४ र उपत्यका बाहिर ११ वटा ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .