पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले रवि लामिछानेसहित तीन जनाविरुद्ध अनुसन्धान प्रतिवेदन तयार पारी कानुनी प्रक्रिया अघि बढाएको छ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा तीन मुख्य विषयलाई आधार मानेर उनीहरुविरुद्ध कारवाही माग गरिएको छ।
पहिलो, अस्मिता कार्कीले न्यूज २४ कार्यालय बाहिर खिचेर पत्रकार शालिकराम पुडासैनीलाई पठाएको तस्विरलाई दुरुत्साहनका लागि महत्वपूर्ण प्रमाण मानिएको छ।
दोस्रो, पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने सञ्चालक रहेको न्युज २४ को सिधा कुरा जनतासँग छोडेर माउन्टेन टेलिभिजनमा काम गर्न थालेपछिको अवस्थामा न्युज २४ र अस्मिताबीच भएको टेलिफोन डिटेललाई प्रमाणको रुपमा पेश गरिएको छ।
तेस्रो, शालिकरामले मर्नुअघि दिएको भिडियो बयानले घटनाक्रमलाई जोडेको उल्लेख गर्दै प्रमाणको रुपमा लिइएको छ।
यो बाहेक प्ररहीले शालिकराम र अस्मिताबीच आदान प्रदान भएका तस्विर सम्वाद, तीनै जना अभियुक्तहरुको टेलिफोन डिटेल तथा डिजिटल फोरेन्सिक ल्याब र पोष्टमार्टम रिपोर्टलाई समेत प्रमाणको रुपमा पेश गरेको छ।
प्रमाणको रुपमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल तथा रुकु भनिने अस्मिता कार्कीको बयानलाई समेत आधार मानेको जनाएको छ।
प्रहरीले आत्महत्या दुरुत्साहन कसुरमा कानुन बमोजिम सजाय र जरिवानाको माग दाबीसहित मुद्दा अघि बढाउन रायसहितको प्रतिवेदन बुझाएको हो। मुलुकी अपराध संहिताको दफा १८५ अनुसार उनीहरुलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको कारवाही हुनुपर्ने प्रहरीले राय दिएको छ।
प्रहरीले बुझाएको यी प्रमाणका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो।
अदालतका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा मुद्दाको सुनाइ समेत सुरु भएको छ। आइतबार आरोपी कार्कीको बयान सकिएको छ। सोमबार रवि र युवराजको बयान हुनेछ। त्यसपछि समय रहे थुनछेक बहस सुरु हुनेछ।
प्रतिक्रिया