बैंकिङ कसुरका फरार एक प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्।
गोकर्णेश्वर नगरपालिका ७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका ७ का ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो।
२०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकमा रहेको खाताबाट
भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटी दिएका थिए।
बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय ठहर भएको थियो। उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ। उनी बिहीबार नै कारागार चलान भएका छन्।
Shares
प्रतिक्रिया