ad ad

समाज


काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिनसम्म थप्ने तयारी, सीडीओहरूको बैठक बस्दै

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिनसम्म थप्ने तयारी, सीडीओहरूको बैठक बस्दै

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ५:४०,

गत वैशाख १६ देखि निषेधाज्ञा लागू काठमाडौं उपत्यकामा यसको अवधि अरू १५ दिनसम्म बढाउने तयारी गरिएको छ।

यसबारे निचोडमा पुग्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

बैठकले नै अन्तिम निर्णय गर्ने भए पनि १ सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने कि भन्ने अनौपचारिक छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।

तर निषेधको नियम अहिलेभन्दा केही खुकुलो पार्ने तयारी भइरहेको उनले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तीन सीडीओको संयुक्त बैठक आज दिउँसो २ बजेपछि बस्ने तयारी छ।

उनका अनुसार अबको निषेधाज्ञा विकास निर्माणका कामलाई थप प्राथमिकता दिने, बिहान ९ बजेसम्म खोल्न दिइएका खाद्यान्न तथा तरकारी पसल सञ्चालन अवधि अलि बढाउने तथा अन्य पसल पनि समय तोकेर खोल्न दिनेलगायत विकल्पमा छलफल भइरहेको छ।

यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड कडा रूपमा पालना गरी निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने दिने कि भन्नेमा पनि छलफल भइरहेको छ।

यसअघि पटकपटक थप गरिएको निषेधाज्ञाको पछिल्लो अवधि सोमबार (जेठ ३१ गते) राति १२ बजेबाठ सकिँदै छ।

तर कोरोना महामारी अझै नियन्त्रण नभएकाले पुनः थप गर्नुपर्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .