ad ad

समाज


यी ४ लक्षण छन् भने बुझ्नुस्, तपाईंको ‘इम्युनिटी’ कमजोर छ

यी ४ लक्षण छन् भने बुझ्नुस्, तपाईंको ‘इम्युनिटी’ कमजोर छ

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १५:१८,

जबदेखि विश्वभर कोरोना महामारी फैलियो तबदेखि सबैको ध्यान रोगसँग लड्ने अर्थात् रोग प्रतिरोधी शक्ति बढाउने कुरामा केन्द्रित भएको छ। किनकि बितेका डेढ वर्षले देखाएको छ– कोरोना भाइरसले सबैभन्दा बढी तिनलाई आक्रमण गरिरहेको छ, जसको रोग-प्रतिरोधी शक्ति कमजोर छ।

यसकारण मानिस आफ्नो इम्युनिटी (रोग प्रतिरोधी क्षमता) बढाउन विभिन्न चिज सेवन गरिरहेका छन्। वास्तवमा हामीमा इम्युनिटी कमजोर छ भन्ने संकेत हाम्रो शरीरले नै दिइरहेको हुन्छ।

भारतको इन्दौरस्थित सन्त रविदास हस्पिटलका डा. विशेष अकोलेका अनुसार शरीरमा इम्युनिटी कमजोर भएका संकेत यी हुन् :

१. बारम्बार बिरामी पर्नु
जुन व्यक्तिमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, ऊ मौसम परिवर्तन हुँदैपिच्छे बारम्बार बिरामी भइरहन्छ। मूत्रसम्बन्धी संक्रमण, छालाका रोग, चिसो लाग्ने, फ्लुका समस्या चाँडै भइहाल्छ। गर्मी मौसममा समेत बादल लाग्नासाथ सबैभन्दा पहिले यस्ता मानिस बिरामी परिहाल्छन्। यदि तपाईंमा यस्ता लक्षण छन् भने तपाईंले आफ्नो रोग प्रतिरोधी शक्तिमा ध्यान दिन जरुरी छ। बढीभन्दा बढी सुन्तला खानुस्, जसबाट तपाईंको शरीरलाई भिटामिन सी प्राप्त हुन्छ, जसले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ।

२. एलर्जी
धेरै मानिसलाई विभिन्न किसिमका एलर्जी भइरहन्छ। कसैलाई गन्धबाट एलर्जी हुन्छ त कसैलाई कुनै खानेकुराबाट। एलर्जी हुनु राम्रो संकेत होइन। एलर्जीका कारण मौसमी ज्वरो एकदमै चाँडै आउँछ। यदि तपाईंका आँखामा सधैं पानी आइरहन्छ, नाकबाट पानी बगिरहन्छ वा छालामा कुनै दाग वा रातोपन देखिन्छ भने आफूमा इम्युनिटी कमजोर छ भनेर बुझ्नुपर्छ। जाडोमा सधैं दुखाइ महसुस हुन्छ भने रोग प्रतिरोधी क्षमता कमजोर भएको लक्षण हो, यसको उपचार गराइहाल्नुस्।

३. घाउ निको हुन समय लाग्ने
यदि तपाईंलाई कुनै चोटपटक लाग्यो र त्यो निको हुन निकै समय लाग्यो भने यो सम्भावना छ कि तपाईंको इम्युनिटी कमजोर छ। घाउ भएपछि त्यसमा पाप्रा बन्न थाल्छ, जसले रगतलाई बाहिर आउनबाट रोक्छ। यदि तपाईंर्मा यो प्रक्रिया पूरा हुन समय लागिरहेको छ भने यो राम्रो संकेत होइन। घाउमा पाप्रा बन्न समय लाग्छ भने यसको अर्थ हो– तपाईंको शरीरलाई त्यस संक्रमणसँग लड्न लामो समय लागिरहेको छ। यस्तो छ भने रोग प्रतिरोध क्षमता बढाउन ध्यान दिन जरुरी छ।

४. जतिबेला पनि थकाइ 
यदि तपाईंलाई हरेक समय थकाइ महसुस हुन्छ, शरीरमा कुनै जोश, जागँर, स्फूर्ति हुँदैन भने यो रोग प्रतिरोधी क्षमता राम्रो नभएकाृ संकेत हो। यदि तपाईंलाई निद्रा पूरा हुँदैन तथा दिनभर निद्रा मात्र लागिरहन्छ भने यो रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको संकेत हुन सक्छ। यस्तो छ भने तपाईंले पूरा निद्रा लिन आवश्यक छ र तनावबाट टाढा रहन जरुरी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .