ad ad

समाज


ब्ल्याक फंगसबाट हरियाणामा ५० को मृत्यु, ६ सय ५० को उपचार जारी, के हो यो रोग?

ब्ल्याक फंगसबाट हरियाणामा ५० को मृत्यु, ६ सय ५० को उपचार जारी, के हो यो रोग?

नेपालखबर
जेठ १६, २०७८ आइतबार ९:१२,

हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरका अनुसार हालसम्म ५० जनाको मृत्यु भइसक्दा यस रोगबाट पीडित त्यहाँ ६५० जनाको उपचार जारी छ।

खट्टरले आइतबार एक पत्रकार सम्मेलनमा भनेका छन्,‘यो राज्यभर ७५० जना ब्ल्याक फंगसबाट पीडित भइसकेका छन्। ५८ जना उपचारपछि स्वस्थ छन् भने ६० जनाको मृत्यु भएको छ र अहिले ६५० को उपचार जारी छ।’

‘सरकारले यो रोगको उपचारमा प्रयोग हुने इन्जेक्सनको व्यवस्था गरेका छ र यसले उपचारमा सहयोग पुग्नेछ’ उनी भन्छन्,‘हामीलाई यो इन्जेक्सनको ६ हजार सिसी दबाई प्राप्त भएको छ। आगामी दुई दिनमै थप २ हजार सिसी दबाई पनि प्राप्त हुनेछ।’

के हो यो रोग? यसबाट कसरी बच्ने?

ब्ल्याक फंगसको संक्रमणलाई ‘म्युकरमायकोसिस’ भनिन्छ। यस रोग लागेपछि मृत्यु हुने र बाँच्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ।

विज्ञहरुका अनुसार ब्ल्याक फंगस जटिल बने मानिसको ज्यान जोगाउन आँखा नै झिक्नुपर्ने हुन्छ।

भारतमा यतिबेला कोरोनामुक्त भएका मासिनमा यो रोग देखा परेको छ। डाक्टरहरुका अनुसार कोरोनामुक्त भएको १२ देखि १८ दिनभित्र मानिसमा कालो ढुसीको समस्या देखिएको छ।

मध्यप्रदेशको महाराजा यशवंतराव अस्पतालका औषधि विभाग प्रमुख वीपी पान्डेयका अनुसार ब्ल्याक फंगस भएका बिरामीमध्ये ८० प्रतिशतलाई तुरुन्तै सर्जरीको खाँचो हुन्छ।

उनी भन्छन्,‘ब्ल्याक फंगस संक्रमण अब कोरोनाको तुलनामा अधिक चुनौतीपूर्ण बनेको छ। यदी समयमै उपचार भएन भने यसबाट ९४ प्रतिशत मृत्युदर निम्तनसक्छ। यस बिमारीको उपचार महँगो छ र यसको औषधिको आपूर्ति पनि पर्याप्त छैन।’

म्युकरमायकोसिस एकदमै दुर्लभ संक्रमण हो। यो कालो ढुसी म्युकस फंगसका कारण हुने गर्दछ।

यस्ता फंगस माटो, बोटबिरुवा, मल, सडेको फल र तरकारीहरूमा भेटिन्छ। यसबाट बच्न पहिलो त मानिसले सरसफाईमा ध्यान दिनुपर्छ।

तर पछिल्लोपटक कोरोनामुक्त भएका मानिसमा यस्तो कालो ढुसी देखिनुको कारण अत्यधिक एस्टेरोइडजस्ता औषधिको प्रयोग भएको विज्ञहरु बताउँछन्।

यो रोग कमजोर इम्युनिटी भएका मानिस जस्तै क्यान्सर, एचआइभी, मधुमेहका रोगीको लागि झनै खतरनाक भएको बताइन्छ।

यसले मानिसको नाक नजिकैको साइनस, फोक्सो र मस्तिष्कमा असर गर्दछ।

नाक बन्द हुनु, नाकबाट खुन र कालो पदार्थ बग्नु साथै आँखा सुन्निने र पोल्ने हुनु, नाक वरपर कालो धब्बा बस्नु, आँखाले धमिलो देखिनु यस रोगका लक्षण हुन्।

यी लक्षण देखिए तत्काल अस्पताल जानुपर्छ। उपचारमा ढिला भएमा आँखाको ज्याति जानसक्छ भने बिरामी बचाउन आँखा नै निकाल्नुपर्ने हुन्छ।

यो रोगका लागि एन्टी फंगल इन्जेक्सन ‘एम्फोटेरिसिन बी’ को आवश्यकता हुन्छ। आठ हप्तासम्म यो इन्जेक्सन लगाउनुपर्छ।

यसको मूल्य ३५ सय भारु रहेको छ। यस रोगबाट बच्न स्टेरोइड औषधिको प्रयोगमा कमी ल्याउनुपर्ने, शरीरमा पानीमा मात्रा कम हुन दिन नहुने र डायबिटिज रोगलाई नियन्त्रणमा ल्याउनुपर्ने विज्ञहरु बताउँछन्। एजेन्सी

यो पनिः कोरोना निकोपछि कस्ता मानिसलाई हुन्छ आँखा बिगार्ने घातक ब्ल्याक फंगस?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .