यास चक्रवातको प्रभाव बिस्तारै कम हुँदै गएको पाइएको छ।
मौसमविद्का अनुसार यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै भए पनि वर्षा हुने क्रम कम भएको छ।
यसअघि देशैभरजसो हल्कादेखि अति भारीसम्म वर्षा भएकामा अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका एक/दुई स्थानमा मात्र हल्का वर्षा भइरहेको छ।
दुई तीन दिनदेखि वर्षा भइरहेको काठमाडौं उपत्यकमामा पनि आज दिउँसोदेखि घाम लागेको छ।
पूर्वबाट प्रवेश गरेको यो प्रणाली पश्चिम सर्ने क्रममा कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन्।
आज राति केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै भोलि आइतबार दिउँसो देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।
बंगालको खाडीमा बनेको शक्तिशाली यास चक्रवात भारतको पश्चिम बंगालमा प्रवेश गर्ने क्रममा नेपालमा पनि त्यसको प्रभाव परेको हो।
जसले केही दिनदेखि नेपालमा मौसम बदली, वर्षा र हिमपात गराइरहेको थियो। शनिबारदेखि भने यसको प्रभाव केही कम हुन थालेको हो।
प्रतिक्रिया