समाचार एजेन्सी पीटीआईका अनुसार आईएमएले बाबा रामदेवले १५ दिनभित्र माफी माग्नुपर्ने, यदी माफी नमागेको खण्डमा हजार करोड भारु क्षतिपूर्ति ब्यहोर्नुपर्ने बताएको हो।
रामदेवले हालै वैज्ञानिक उपचार पद्धति ‘एलोपेथी’विरुद्ध भनाइहरु राखेपछि आइएमएले रामदेमवमाथि कारवाहीको माग गरेको हो।
एलोपेथीको बारेमा ज्ञान नै नभएका रामदेवले मानिसहरुलाई गलत बाटोमा डोर्याएको र वैज्ञानिक उपचार पद्धतिको बदनाम गरेको आइएमएले जनाएको छ।
यसअघि आइएमएले रामदेवमाथि महामारी रोग ऐन अन्तर्गत कारवाही हुनुपर्छ भनेको थियो। यतिबेला उसले सबैसँग माफी माग्नु पर्ने नभए क्षतिपूर्ति व्यहोर्नुपर्ने बताएको हो।
आईएमए उत्तराखण्डका सचिव अजय खन्नाले आफ्ना वकिल निरज पाण्डेको माध्यमबाट ६ पृष्ठको पत्रमा भनेका छन्,‘रामदेवले एलोपेथीबारे गरेको टिप्पणीले एलोपेथी र आईएमएसँग सम्बन्धित २ हजारभन्दा बढी डाक्टरको इज्जत र छवीमा नोक्सान पुर्याएको छ।’
यदी रामदेवले माफी नमागे उनले आईएमएका हरेक सदस्यलाई जनही ५० लाख क्षतिपूर्ति दिनुपर्ने पत्रमा भनिएको छ। यसको कुल रकम हजार करोड हुन आउँछ।
रामदेवको भनाइले भारतीय समाजलाई नोक्सानी पुर्याउने टिप्पणी हुन थालेको छ।
यसअघि रामदेवले अक्सिजन अभावमै मानिसहरुकोे मृत्यु भइरहँदा कोरोना संक्रमितमाथि चोट पुर्याउने भनाइ राखेका थिए।
उनले संसारभर भगवानले अक्सिजन दिएता पनि आज मानिसहरु अक्सिजन लिनै नसक्ने अवस्थामा पुगेको ठट्यौली पारामा बताएका थिए।
यसपटक भने उनले भनेका थिए,‘एलोपेथी एक मूर्ख र दिवालिया विज्ञान हो जसका कारण लाखौं मानिस मरिरहेका छन्।’
उनले भारतको औषधि नियामक संस्थाले अनुमति दिएको रेम्डेसिभिर तथा फाभीफ्लुजस्ता औषधिले कोरोना संक्रमितको उपचार गर्न असक्षम भएको पनि दाबी गरेका थिए।
Shares
प्रतिक्रिया