नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यक्रमले २१ हजार १ सय ६७ किलोग्राम फोहोर संकलन गरेको छ।
छवटा हिमालहरु माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लामबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरेको सेनाले जनाएको छ।
यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरु रहेका छन्।
यस अभियान औपचारिक रुपमा गत अप्रिल १३ मा सुरु भएको थियो। हालसम्म ६ वटा हिमालयहरुबाट २१ हजार १६७ किलोग्रामको फोहोर संकलन गरिएको हो।
संकलितमध्ये १ हजार ८ सय ६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९ हजार २ सय ९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरु समावेश छन्।
टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु समावेश रहेका छन्।
यसबाहेक पहिला दुर्घटना भएको ९ एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेषहरु पनि धौलागिरि टोलीले रिट्राइभ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ।
हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भने, ‘६ वटा हिमालहरु सफा गर्ने उद्देश्यले अभियानमा खटाइएका टोलीले स्थानीय सरकारसँगको नजिकको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागि परेका छन्।’
सफा हिमाल अभियानको लक्ष्य भनेको प्रकृति र वातावरणको संरक्षण गरेर ६ वटा हिमालहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको लागि भएको सेनाले जनाएको छ।
टोलीहरु स्थानीय सरकार, स्थानीय सरोकारवालाहरु र सबै सम्बन्धित साझेदारहरु सँग घनिष्ट समन्वयमा काम गर्दै छन् । फोहोर संकलन गतिविधिहरु सम्पन्न भएपछि संकलन गरिएको फोहोरलाई थप रिसाइक्लिङको लागि रिसाइक्लिङ पार्टनरलाई हस्तानतरण गरिनेछ ।
नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले भने, ‘हिमाल चढ्ने काम धेरै नेपाली र विदेशीहरुको लागि एक ठूलो स्पोर्ट हो र धेरैले यसलाई जितेका छन् । साथै हाम्रा भावी पुस्ताहरुका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेको छ।’
नेपाल सरकार, नेपाली सेना र अन्य धेरै निजी साझेदारहरु हिमालयको सुरक्षाको लागि एकताबद्ध भएर जम्मा भएको देख्नु अत्यन्त महत्वपूर्ण रहेको उनले बताए।
प्रतिक्रिया