भारतको हरियाणा राज्यअन्तर्गत रेवाडी जिल्लामा बनाइएको कोरोना कारागारबाट शनिबार राति १३ कैदी भागेका छन्। उनीहरू सबै कोरोना संक्रमित रहेको र खोजी जारी रहेको जनाइएको छ।
शनिबार राति जेलको ग्रिल काटेर कैदी फरार भएका हुन्। आज बिहान कैदी गन्ने क्रममा १३ जना फरार भएको पत्ता लागेको हो।
घटनापछि त्यहाँ हलचल पैदा भएको छ। खबर पाउनासाथ एसपी अभिषेक जोरवाल आफैं त्यहाँ पुगेर जानकारी लिइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण व्यापक बनेपछि रेवाडी जिल्लाको फिदेडीमा बनेको नयाँ जेललाई कोरोना कारागार बनाइएको छ।
प्रदेशभरका जेलमा रहेका कोरोना संक्रमित कैदी/बन्दीलाई एकै ठाउँ कोरोना कारागारमा ल्याएर राखिएको हो। जहाँ अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएका करिब ४५० कैदी/बन्दी राखिएका छन्।
प्रतिक्रिया