केहि सातादेखि कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै नजिकिँदै गएको माध्यमिक शिक्षा परीक्षा (एसईई) के हुन्छ भन्ने अन्याेलता बढेको छ।
यस वर्षको एसईई परीक्षाको मिति जेठ १३ देखि २४ सम्मका लागि तोकिइसकेको छ।
हरेक वर्ष चैतमा हुने एसईईलाई दुई महिना शैक्षिक सत्र सारेर जेठका लागि तोकिएको हो। यस्तै कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक भए पनि यसबारे पनि कोरोना महामारीकै कारण अन्याेल थपिएको छ।
गत वर्ष कोरोना महामारीका कारण एसईई परीक्षा हुन सकेको थिएन। सरकारले परीक्षाको वैकल्पिक विधि अपनाउँदै शैक्षिक सत्रलाई खेर जान नदिई निरन्तरता दिएको थियो।
गत वर्ष विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनका आधारमै ग्रेड (स्तर) निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो।
परीक्षा नजिकिँदै गर्दा कोरोना महामारी झन् बढ्दै गएपछि विद्यार्थी र अभिभावकमा यस वर्षको परीक्षा के हुने हो भन्ने चिन्ता थपिएको छ।
अहिले नै एसईई परीक्षाबारे कुनै निर्णय नलिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताए।
‘अहिले हामीले परीक्षाको तयारी नै जारी राखेका छौं,’ पौडेलले भने, ‘निर्धारित मितिमै परीक्षा गर्ने गरी बोर्डले तयारी गरेको छ। पछिको अवस्थाबारे अहिले नै आँकलन नगरौं।’
बैशाख अन्तिमसम्म कोरोना महामारीले कस्तो रुप लिन्छ त्यो हेरेर निर्णय लिने पौडेलले बताए।
गत वर्ष पनि परीक्षा सुरु हुनुभन्दा एक दिनअघि मात्र सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। जसका कारण विद्यार्थी र अभिभावकलाई अन्तिम समयसम्म निकै अन्याेल र तनाव भएको थियो।
आइतबार एसईईको विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको सुरक्षा समितिको बैठकसमेत बसेको थियो। शिक्षा सचिव अध्यक्ष रहने उक्त समितिमा कोरोनाको लहरलाई हेरेर परीक्षाबारे निर्णय लिनेगरी छलफल भएको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए।
गतवर्ष सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने तयारी सहित केन्द्र तोकिए पनि अन्तिम दिन निर्णय लिइएको थियो।
सरकारले अन्तिम अवस्थामा निर्णय गरेको भन्दै आलोचनासमेत भएको थियो।
परीक्षा केन्द्र तोकिएको र विद्यार्थीहरु त्यसका लागि केन्द्रमा पुगिसकेको अवस्थामा स्थगित भएको सूचना आएपछि उनीहरु फर्किन बाध्य भएका थिए।
गत वर्ष मन्त्रिपरिषदको जेठ २८ गते बसेको बैठकले एसईई परीक्षा नलिने र विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो।
२०७६ चैत ६ गतेका लागि तोकिएको एसईई परीक्षा चैत ५ गते साँझ कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले स्थगित गर्ने निर्णय गरेपछि अन्तिम समयमा विद्यार्थीलाई अनावश्यक तनाव भएको हाे।
पछि जेठमा पनि परीक्षा हुन नसकेपछि वैकल्पिक विधि अपनाइएको थियो।
कक्षा १२ को परीक्षा भने कोरोना महामारी कम भएपछि गरिएको थियो।
‘एसईई गर्ने जिम्मा स्थानीय तहलाई दिउँ’
शिक्षाविद् विद्यानाथ कोइराला भने एसईई परीक्षा केन्द्रीय तहबाट गर्न आवश्यक नै नभएको बताउँछन्।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन पालना गरे एसईई परीक्षाबारे के गर्ने भन्ने समस्या नआउने उनको भनाइ छ।
उक्त समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई एसईई गर्ने जिम्मा स्थानीय तहलाई दिन निर्देशन दिएको थियो।
परीक्षाको वैकल्पिक विधि अपनाउन सकिने कोइरालाको भनाइ छ।
‘विद्यार्थीले आफ्नो स्वमूल्यांकन गर्न सक्नेगरी प्रश्न पत्र तयार गर्न सकिन्छ,’ उनले भने, ‘विद्यार्थीले आफ्नो स्तर आफै परीक्षण गर्नसक्ने प्रश्नपत्र विकास गरेर त्यसका आधारमा स्तर निर्धारण गरौं।’
विद्यार्थीको विषयगत क्षमता नहेरी व्यावहारिक क्षमताको परीक्षण गरेर अघि बढ्न सकिने उनले सुझाए।
यस वर्ष कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि असार ४ गतेसम्मका लागि तोकिएको छ।
यो शैक्षिक सत्रमा पनि कोरोनाका कारण विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ। केही समय विद्यार्थीले भौतिकरुपमा कक्षा लिए पनि अधिकांश समय वैकल्पिक माध्यमबाट अध्ययन गर्नुपरेको थियो।
ग्रामीण क्षेत्रमा भने घुम्ति कक्षाहरु संचालन गरेर भए पनि शैक्षिक सत्रलाई निरन्तरता दिने प्रयास गरिएको थियो।
तर अनलाइन कक्षाहरुको पहुँच र प्रभावकारिताबारे प्रश्न उठ्दै आइरहेका छन्।
महामारीका कारण शैक्षिक सत्र दुई महिनापछाडि धकेलेर असारबाट नयाँ शैक्षिक सत्र सुरु गरिएको थियो।
Shares
प्रतिक्रिया