ad ad

समाज


कोरोना महामारी जति बढे पनि यसो गरे हामी बच्न सक्छौं : डा. पाण्डे

कोरोना महामारी जति बढे पनि यसो गरे हामी बच्न सक्छौं : डा. पाण्डे

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ०:३६,

कोरोना संक्रमण भयावह भइरहेका बेला यसबाट बच्ने उपायबारे विज्ञहरूले निरन्तर सल्लाह/सुझाव दिइरहेका छन्।

यसैमध्ये आम नागरिकको स्वास्थ्यप्रति अत्यन्त चिन्तित हुने विज्ञ हुन्– डा. रवीन्द्र पाण्डे। जनस्वास्थ्यविद् पाण्डे कोरोनाबाट बच्ने र बचाउने उपायबारे निःशुल्क परामर्श दिइरहेका हुन्छन्।

यसै क्रममा उनी भन्छन् :
अहिले महामारी निकै बढेको छ। यस्तो प्रतिकूल अवस्थामा हामी सकभर घरभित्र बसौं। केही दिन वा हप्ता हामीले धैर्यता एवं आत्मानुशासन पालना गर्‍यौं भने आफू, आफ्नो परिवार र समुदायलाई बचाउन सक्छौं।

भेटघाट, भोजभतेर, घुमफिर, पेसागत काम, अध्ययन आदि गर्न पनि हामीले स्वास्थ्य रक्षा गर्नुपर्छ। महामारी नियन्त्रण भएपछि हामीले स्वतन्त्र जीवनमा रमाउन पाउनेछौं।

यसै पनि कोरोना संक्रमणको मृत्युदर नेपालमा १ प्रतिशत मात्र छ। अहिले पनि ९० प्रतिशत संक्रमित घरमै सामान्य उपचारले निको हुनुभएको छ। पोषिलो खाना, व्यायाम, तनाव व्यवस्थापन, सकारात्मक सोच आदिबाट हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ।

भारतमा देखिएको अक्सिजनको हाहाकार, मृतकको संख्या, अस्पताल तथा घाटको अवस्था देखेर हामी आत्तिनुपर्ने अवस्था हुँदैन। नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेको छ। पुराना निको हुने तथा नयाँले त्यो ठाउँ पाउने क्रम चलिरहेको छ।

त्यस्तै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरेलगायतका परीक्षण गर्न सकिन्छ। सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाहअनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा व्यवस्थापन हुन्छ।

समाचारको आतंकले गर्दा मनमा कोरोना बोकेर आत्तिन हुँदैन।

अत्यावश्यक कामले घरबाहिर निस्किनुपरेमा डबल मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, भीडभाडमा नजाने तथा हातको निरन्तर सफाइ गर्नाले हामी संक्रमणबाट बच्न सक्छौं।

उपचारभन्दा रोकथाम सजिलो र सस्तो छ। नाकमुनि वा चिउँडोमा मास्क लगाएका व्यक्तिलाई हामीले नागरिक तहबाट पनि सम्झाउन सक्छौं।

व्यक्ति-व्यक्तिमा रोकथामको प्रयास हुने हो भने संक्रमण घट्दै जान्छ। परिस्थति जतिसुकै प्रतिकूल भए पनि मनस्थिति बलियो भयो भने हामी कोरोना भाइरसँग लड्न सक्छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .