पशुपति आर्यघाटसँगै बागमती किनारमा लहरै ८ वटा नयाँ चिता छन्।
कुनैमा शव जलिरहेका छन् त कुनैमा शव जलाउने तयारी गरिँदैछ। ती सबै चिता आजै नेपाली सेनाले तयार पारेको हो।
तर, यो आर्यघाटको कुनै नियमित दृष्य थिएन। ती शवलाई आफ्नो संस्कारअनुसार अन्तिम विदाई गर्न आफन्त चितासम्म आउन सक्ने अवस्था छैन। किनभने ती शव कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको हो। त्यसैले मृतकले पाउने प्रेम र सम्मान यी शवले पाएका छैनन्।
विद्युतीय शवदाहगृह प्रवेशद्वारमा फलामे गेट छ। त्यो गेट भित्र सेनाको शव वहान आफ्नै गतिमा प्रवेश गर्छ। गेटबाहिर मृतकका आफन्त र शुभचिन्तक मलिन मुद्रामा विदाईका लागि प्रतीक्षा गरेर बसेका छन्। सहज हुँदो हो त अन्तिम विदाईमा प्रियजनको शव छातीमा टाँसेर रुन कसको मन हुँदैन र?
सुरक्षित झोलाभित्र राखिएका शव गेटभित्र लहरै राखिएका छन्। पीपीई सेटमा रहेका शव व्यवस्थापन टोलीका सदस्य मृतकको नाम हेरेर आफन्तलाई बोलाउँछन्। आफन्तले गेट बाहिरबाट हात छिराएर पुष्पगुच्छा अर्पण गरेको दृष्यले जो सुकैको मन छियाछिया पार्छ।
यो समयको बाध्यता भनेर आफन्त चित्त बुझाउन बाध्य छन्।
कोरोनाको पहिलो लहरको समयमा संक्रमणबाट मृत्यु हुनेको शव बाहिर अन्त्येष्टि गरिँदैनथ्यो। उपत्यकामा मृत्यु भएकाहरुको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि हुन्थ्यो। तर दोस्रो लहरमा भने विद्युतीय शवदाह गृहका तीन वटा मेसिनले त्यसलाई धान्न सकेनन्। अनि बागमती किनारमै शव जलाउने बाध्यता बन्यो।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि आर्यघाटमा नेपाली सेनाको टोलीले दैनिक १५ देखि २० वटासम्म शव अन्त्येष्टि गर्दै आएको छ।
किनारमा बनाइएका शवदाह स्थलले मात्र नपुगेर किनारको ढिस्कोमा नै शव जलाउनु पर्ने बाध्यता आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
सोमबार बागमती किनारमा एकै पटक ८ वटा शवसम्म जलाइएको थियो। ८ वटा शव एकै पटक जलाउँदा पनि ४ वटा शव पालो कुरेर किनार पेटीमा राखिएको थियो।
नेपाली भनाइ नै छ- मर्दाको मलामी। तर अहिले त्यो अवस्था पनि छैन। महामारीका कारण मानिसहरु घाटसम्म मलामी बनेर जाने अवस्था पनि छैन।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै सेनाको एउटै टोलीले एकै पटक ४ वटासम्म शव उठाउँदै आएको छ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन नेपाली सेनाको उपत्यका पृतनाले गर्दै आएको छ। पृतनामा कोभिड डेथबडी म्यानेजमेन्ट डक्स बनाएर सेनाले काम गरिरहेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। उक्त टोलीमा दैनिक १५० सैनिक खटिरहेका छन्।
सेनाले कोरोना संक्रमण बढेसँगै देशभर वैशाख १६ गते ४९ जना, १७ गते ६१ जन र १८ गते ५५ जनाको शव व्यवस्थापन गरेको थियो। सोमबार ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित भएको र ३७ जनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप तस्बिरहरु:
भिडिओ सञ्जीव याेञ्जन
यो पनिः कोरोनाको दोस्रो लहरसँगै आर्यघाटमा बढ्दै छन् हृदयविदारक दृश्यहरु
प्रतिक्रिया