ललितपुरको लखगनेलमा आफैंले आफ्नो जीउमा मट्टितेल छर्किएर आगो लगाएको भनिएकी युवतीको मृत्यु भएको छ।
गत चैत २१ गते आफ्नै घरको भान्छाकोठामा शरीरमा आगो लगाएकी ३० वर्षीया अप्सरा बस्ताकोटीको उपचारका क्रममा मंगलबार कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको आफन्तले जानकारी दिएका हुन्।
पोस्टमार्टमका लागि अप्सराको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।
मृतकका श्रीमान हिम्मत श्रेष्ठले त्यो दिन घुम्न दिदीहरूसँग फनपार्क गएकी अप्सरासँग सामान्य विवाद भएको र विवादपछि आफू बाहिर भएको समयमा उनले आफ्नो शरीरमा मट्टितेल छर्किएर आगो लगाएको दाबी गरेका छन्।
आगो निभाउने क्रममा आफू समेत घाइते भएको र पाटन अस्पतालमा उपचार गराएको हिम्मतले नेपालखबरलाई बताए। अप्सरालाई भने त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर लगिएको थियो।
माइती घर बौद्ध भएकी अप्सराका माइती पक्षले भने आत्माहत्या नभई हत्याको शंका गरेका छन्। घटना निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माइती पक्षको माग छ।
बुधबार जाहेरी दिने तयारी गरिएको मृतकका दाइले बताए।
हिम्मत र अप्सराबीच ५ वर्ष पहिले अन्तरजातीय विवाह भएको थियो।
प्रतिक्रिया