ad ad

समाज


वडाध्यक्ष नै सहकारीका अध्यक्ष, ऋण चुक्ता गरेर पनि सम्पत्ति लिलाममा!

वडाध्यक्ष नै सहकारीका अध्यक्ष, ऋण चुक्ता गरेर पनि सम्पत्ति लिलाममा!

गोकुल जोशी
साउन २६, २०७६ आइतबार १५:१५,

सहकारी संस्थाहरुको मातृसंस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून) सँग आबद्ध कञ्चनपुरको महाकाली नगरपालिकास्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बदमासीले गर्दा केही स्थानीयको उठिबास हुने स्थिती आएको छ।

सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध १० जना सदस्यहरुमध्ये केहीको उक्त संस्थाका पदाधिकारीहरुको बदमासीले गर्दा उठिबास नै हुने स्थिती आएको हो।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून) ले सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत त्यस सहकारीमा आबद्ध किसानलाई कृषि प्रयोजनका लागि ऋण प्रदान गरेको थियो। वि.स. २०७१ अगाडि ४४ लाख ऋण लिएको सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सो रकम चुक्ता गरेपछि दुई किस्ता झण्डै ८० लाख ऋण लिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून) महेन्द्रनगरका कार्यालय प्रमुख बिष्णु जोशीले बताए।

८० लाख ऋण लिएपछि दुई/तीन किस्ता सावाँ तिरेको तर त्यसपछि भने बेखबर रहेको उनले बताए। सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले किसानहरुको जमिन नेफ्स्कूनमा धितो राखेर ऋण लिएको थियो। १० जना ऋण लिएका सगरमाथा बचत तथा ऋण सहकारीका सदस्यमध्ये २ जनाले ऋण चुक्ता गरिसकेका छन्। उद्यपी उनिहरुले ऋण चुक्ता गरिसकेपछि पनि नेफ्स्कूनमा धितो राखेको आफ्नो जमिनको पुर्जा पाउन सकेका छैनन्।

सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीको बदमासीले ऋण लिएका सदस्यको उठिबास हुने देखिएको छ। धितोमा ऋण प्रदान गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून)ले सगरमाथा बचत तथा ऋण सहकारीमार्फत ऋण लिएका सोही सहकारी सहित १० जना अन्य सदस्यको उठिबास हुने किसिमले धितो लिलाम हुने भएको छ।

सदस्यहरुले ऋण चुक्ता गरिसकेको भएपनि ज्ञानेन्द्र बहेक क्षेत्री अध्यक्ष रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले लामो समयसम्म नेफ्स्कूनमा किस्ता तथा त्यहाँको ऋण सावा, ब्याज नतिरेको नेफ्स्कून महेन्द्रनगरका प्रमुख जोशीले बताए।

ज्ञानेन्द्र बहेक क्षेत्री अध्यक्ष रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख ७० हजार ऋण नेफ्स्कूनमा तिर्न बाँकी रहेको उनले बताए। सदस्यहरुले समयमै तिरेको ऋण समेत नेफ्स्कूनमा सगरमाथा सहकारीका अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले नतिर्दा ऋण चुक्ता गरेका सदस्यहरुले समेत धितो राखेर जमिनको पुर्जा पाएका छैनन्। बरु तिनीहरुको जमिन समेत ऋण नतिरेको भनेर लिलाम हुने भन्दै नेफ्स्कूनले पत्राचार गरेको छ।

सगरमाथा बचत तथा ऋण सहकारी संस्थासहित अन्य १० जनाको धितो राखेको सम्पत्ति लिलाम प्रक्रियामा गइसकेको नेफ्स्कून महेन्द्रनगर कार्यालय प्रमुख जोशी बताउँछन्। नेफ्स्कूनका अनुसार लिलाम प्रक्रियामा गएका ११ सदस्यहरुमध्ये केहीले पुरै चुक्ता गरेका छन् भने केहीले आधा चुक्ता गरेका छन्।

सगरमाथा बचत तथा ऋण सहकारी संस्थासहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून) मार्फत सगरमाथामा आबद्ध स्थानीय सदस्यहरुले गणेश सार्की, गगन सुनार, मधुदेवी बहेक क्षेत्री, हिरादेवि सुनार, भिम बहादुर गुरुङ्ग, पार्वती कुमारी राना मगर, नर बहादुर सुनार, दल बहादुर सुनार तथा कमलादेवि उपाध्याय र संदिप कुमार उपाध्यायको संयुक्त तथा कमलादेवि उपाध्यायको नाममा रहेको जमीन धितो राखेर ऋण निकालेका थिए।

तीन बर्ष अगाडि नै ऋण चुक्ता गरेको तर हालसम्म पनि धितो राखेको लालपुर्जा नपाएको हिरादेवि सुनारकी बुहारी चन्द्रा सुनारले गुनासो गरिन्। हाल धितो राखेको उनको सम्पत्ति भने लिलाममा गएको छ। यसबारे बारम्बार सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीसँग कुराकानी भएको र जसरी भएपनि लिलाम हुन नदिने आश्वासन दिएको उनले बताइन्। ‘यसबारे अध्यक्षसँग कुराकानी गरेका छौँ, लिलाम हुन नदिने आश्वासन दिएका छन्।’ उनले भनिन्, ‘बिचमा समयको अभावमा नेफ्स्कूनमा ऋण तिर्न नसकेको उनले बताएका थिए।’

सगरमाथा सहकारीसहित ११ जना सदस्यको सम्पत्ति लिलाममा गएकामध्ये २ जना सदस्यले पुरै ऋण चुक्ता गरेको तथा अन्यले नियमित किस्ता तिरेको पीडित बताउँछ। सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले सदस्यहरुले बुझाएको ऋण रकम नेफ्स्कूनमा नबुझाएर आफैले खर्च गरेको उक्त स्रोतले जनाएको छ।

वडाध्यक्ष नै सहकारीका अध्यक्ष
स्थानीय सरकार सञ्चालन ऐन अनुसार जनप्रतिनिधिले कुनै पनि अन्य संस्थाको पदमा बस्न नपाउने व्यवस्था छ। तर महाकाली नगरपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री भने सगरमाथा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रहेका छन्। सगरमाथा सहकारी संस्थाका अध्यक्ष रहेका क्षेत्रीले चुनावमा वडाध्यक्षमा जितेपछि स्थानीय सरकार सञ्चालन ऐन अनुसार अन्य संस्थाको पदाधिकारी पदमा बस्न नपाउने व्यवस्था अनुरुप राजीनामा दिनु पर्ने तथा उनले यसो नगरेको महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिल बहादुर सिजालीले बताए। ‘सुरु देखि नै अध्यक्ष थिए। चुनाव जितेपछि भने अध्ययन पदबाट राजीनाम दिनु पर्ने हो तर यसो गरेका छैनन’ उनले भने, ‘केही दिन यता वडाध्यक्ष नगरपालिकामा समेत नआउने र सम्पर्क गर्दा समेत सम्पर्क नहुने गरेको छ।’

वडाध्यक्ष बहेकसँग नेपालखबरले सम्पर्क गर्न खाेज्दासमेत उनकाे माेबाइलमा सम्पर्क हुन सकेन। 

जिम्मेवार सगरमाथा सहकारी
लिलाम प्रक्रियामा गएको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका १० जना सदस्यको धितो राखेको सम्पत्तीको जिम्मेवार सहकारी नै हुने नेफ्स्कून महेन्द्रनगर कार्यालयका प्रमुख बिष्णु जोशी बताउँछन्। सगरमाथा सहकारी संस्थाका अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको कमजोरीले ऋण चुक्ता गरेको सदस्यको सम्पत्ती समेत लिलाम प्रक्रियामा गएको छ तर, यसको जिम्मेवारी सगरमाथा बचत तथा ऋण सहकारीले लिनु पर्ने उनी बताउँछन्।

सहकारीलाई गएको ऋण पुरा चुक्ता नहुँदा सम्म धितो राखेको सम्पत्तिको प्रमाण फिर्ता दिन नमिल्ने प्रमुख जोशी बताउँछन्। ११ जना सदस्यलाई पटक–पटक पत्राचार गरेको समेत उनले बताए। महिनाको एक/दुई पटक उनकै घरमा पुगेर पत्राचार गर्ने तथा पत्रिकामा छापिएको सूचना दिइएको उनले बताए। लिलाम प्रक्रियामा गएका ती सदस्यहरुले ऋण लगेको रकमको ब्याज, हर्जना तथा किस्ता बुझाएमा अहिलेका लागि लिलाम रोकिने नेफ्स्कून महेन्द्रनगरका प्रमुख जोशीले बताए।

‘सम्पत्ति लिलाम हुन दिदैनौँ’
सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुले आफ्नो संस्थाका सदस्यहरुको सम्पत्ति लिलाम हुन नदिने दाबी गरेका छन्। अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले ऋणका बारेमा बदमासी गरेको बताउँदै सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा हालका सदस्य रहेका खेम बहादुर थापाले आफ्ना सदस्यको सम्पत्ति लिलाम हुन नदिने दाबी गरे। सगोलमा ती सबैको धितो राखेर ऋण निकालेकाले ऋण चुक्ता गरेका दुई जनाले समेत धितो राखेको लालपुर्जा नपाएको उनले बताए। सबै सदस्यबाट ऋण चुक्ता नभएकाले चुक्ता गरेका सदस्य पनि लिलाममा गएको उनी बताउँछन्। यद्यपी केही दिन भित्रै ऋण चुक्ता गरेर धितो राखेको लालपुर्जा फिर्ता गर्ने दाबी उनले गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .