नीलम ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई सो पदमा नियुक्त गरेको हो।
राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन पाउँदा आफू अत्यन्त खुसी भएको उनले नेपालखबरलाई बताइन्।
ढुंगाना २०५४ सालमा नेपाल राष्ट्र बैंकमा गरेकी हुन्। सहायक निर्देशक पदबाट राष्ट्र बैंकमा प्रवेश गरेकी ढुंगाना अहिलेसम्म कुनै पनि परीक्षामा असफल नभएको बताउँछिन्।
‘म पहिलो पटक नै परीक्षामा उत्तीर्ण भएर राष्ट्र बैंकमा प्रवेश गरेँ,’ उनी भन्छिन्, ‘त्यसपछिको जुनसुकै परीक्षामा पनि एकै पटकमा पास हुँदै आएकी छु। मैले २०५४ सालदेखि असफल हुन परेको छैन।’
हालसम्म उनले सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेकी थिइन्। राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक थिए। देवकुमार ढकाल र गुणाकर भट्टपछि उनी तेस्रो वरियतामा थिइन्।
कार्यकारी निर्देशकभन्दा माथि डेपुटी गभर्नर र गभर्नर रहन्छन्। यी दुई पदमा राजनीतिक नियुक्ति हुने व्यवस्था छ।
परीक्षामा अब्बल रहँदै आएकी ढुंगाना राजनीतिक नियुक्तिमा पनि अगाडि देखिइन्।
‘यसमा पनि म आफुलाई भाग्यमानी ठान्छु। कुनै परीक्षामा अथवा आफ्नो योग्यता जाँच हुँदा पछि परेकी थिइनँ। अहिले राजनीतिक नियुक्तिमा पनि परेकी छु,’ उनले खुसी हुँदै भनिन्।
आगामी दिनमा डेपुटी गभर्नरको जिम्मेवारी पुरा गर्न ध्यान दिने उनको भनाइ छ।
‘डेपुटी गभर्नरले गभर्नरसँग समन्वय गरेर दिएको जिम्मेवारी पुरा गर्ने नै हो। त्यसको लागि म प्रतिबद्ध छु,’ उनले भनिन्।
को हुन् ढुंगाना?
ढुंगानाको जन्म २०२५ सालमा झापामा भएको हो। स्कुलको शिक्षा पछि उनले कमर्स विषय अध्ययन गरिन्। पढाइमा तेज उनले दमक क्याम्पसमा आईकम टप गरेकी थिइन्।
आईकमपछि विवाह गरेकी उनले पढाइलाई निरन्तरता दिइन्।
स्नातकोत्तरमा उनले त्रिभुवन विश्वविद्यालयमा महिलातर्फबाट स्वर्ण पदक समेत पाएकी छन्। त्यसपछि केही समय अध्यापनमा लागेकी उनी २०५४ सालमा सहायक निर्देशक पदबाट नेपाल राष्ट्र बैंकमा प्रवेश गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लाको भएकाले पनि उनलाई राजनीतिक नियुक्तिमा पर्न सजिलो भएको हो।
प्रतिक्रिया