पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङघाटबाट शुक्रबार त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका ९ जनाकै परिचय खुलेको छ।
धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृत्यु भएकी सर्लाही त्रिभुवन नगरपालिका–४ की शोभा रौनियारको परिचय खुलेपछि नौवटै शव पहिचान भएको हो।
उनको नाम-ठेगाना शनिबार अबेर खुलेको प्रहरीले जनाएको छ।
धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार वैद्यबारका अनुसार अन्य ८ मृतकमा महोत्तरी बर्दिबास नगरपालिका–६ का २५ वर्षीया सरिताकुमारी महतो र ६ वर्षीय आशिषकुमार साह, भारत बिहार सीतामढीका २२ वर्षीय विजयकुमार यादव र ३० वर्षीय अजयकुमार ठाकुर, सर्लाही हरिवन नगरपालिका–९ का ४६ वर्षीय विनोदप्रसाद उप्रेती, सर्लाहीकै मलंगवा नगरपालिका-१ का ४५ वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ४० वर्षीया मिना श्रीवास्तव तथा मलंगवा नगरपालिकाकै वडा नम्बर ६ का ५५ वर्षीय जगरनाथ यादव छन्।
अझै १६ जनाजति नदीमा हराइरहेको अनुमान छ। ‘बीचमा चार जना ओर्लेको भन्ने कुरा आयो,’ एसपी वैद्यबारले आइतबार बिहान नेपालखबरसँग भने, ‘अझै १५/१६ जना बेपत्ता रहेकाे हाम्राे अनुमान छ, खोजी जारी राखेका छौं।’
आइतबार बिहानैदेखि नेपाली सेना प्रहरी र गोताखोरसहित टोली बेपत्ताको खोजीमा जुटेको उनले जानकारी दिए।
सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस गत शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा परेका १६ जनाको प्रहरीले जिवितै उद्धार गरेको थियो। तीमध्ये केही घाइते अस्पतालबाट डिस्चार्ज भइसकेको र ६ जनाको उपचार काठमाडौंस्थित ट्रमा सेन्टरमा भइरहेको एसपी वैद्यबारले जानकारी दिए।
Shares
प्रतिक्रिया