ad ad

समाज


बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस गेट आउट’ भन्दै कुटपिट गरियो

बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस गेट आउट’ भन्दै कुटपिट गरियो

नेपालखबर
फागुन १९, २०७७ बुधबार ५:५२,

कोरोना भाइरस पहिलोपटक चीनको वुहानबाट फैलिएको जानकारी प्राप्त भएको थियो। जातिवादी सोचकै कारण त्यसबेला चीनका विद्यार्थीहरुमाथि विभिन्न देशमा कुटपिट भएको थियो।

चिनियाँ जस्ता देखिने मानिसहरुलाई कोरोना भाइरस उत्पत्ति हुनुमा जिम्मेवार ठहर्याउँदै आक्रमणको घटना बढेपछि अधिकारवादी संस्थाहरुले त्यसको विरोध जनाएका थिए।

कोरोना भाइरसको विषयलाई कुनैपनि जाति र धर्मसँग जोड्न नहुनेभन्दै चिनियाँ नागरिक अथवा एसियाली मूलका मानिसलाई दुर्व्यवहार गर्न नहुने आवाज उठेको थियो।

धेरै देशले जातिवादी सोच राखेर कोरोना भाइरस उत्पत्ति हुनुमा कसैलाई जिम्मेवार ठहराए कारवाही गर्ने नियम नै बनाएका थिए।

तर त्यस जातिवादी सोच अझै अन्त्य भएको देखिएन। बेलायतमा गतहप्ता मात्रै एक चिनियाँ प्राध्यापकमाथि निर्घात कुटपिट भएको छ।

युनिभर्सिटी अफ साउथह्याम्पटनमा फाइनान्सियल म्यानेजमेन्ट पढाइरहेका ३७ वर्षका प्राध्यापक पेङ वाङमाथि २० देखि २५ वर्षका केही युवाहरुले गत मंगलबार कुटपिट गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

घर नजिकै जगिङ गरिरहेका उनलाई ‘चाइनिज भाइरस गेट आउट फ्रम दिस कन्ट्री’ भनेर गाली–गलौज गरिएको थियो।

‘कारमा आएका केही अराजक युवाहरुले मलाई गाली–गलौज गरेका थिए’ पेङ वाङ भन्छन्,‘उनीहरुले मलाई चिनियाँ भाइरस हाम्रो देशबाट बाहिर जाभन्दै कुटपिट गरेका थिए।’

केही समयमै युवाहरुले उनलाई घेरेर उनीमाथि मुक्का र लात्ता प्रहार गरेका थिए। आक्रमणबाट उनको नाकबाट रगत बगेको थियोभने शरीरका विभिन्न स्थानमा चोट लागेको थियो।

प्रत्यक्षदर्शी एक व्यक्तिले प्रहरीलाई खबर गरेपछि एकजना युवा गिरफ्तार भएका थिए। यस घटनाले चिनियाँ नागरिक बेलायतमा सुरक्षित नभएको भन्दै आवाज उठेको छ।

Singaporean student in London bashed after responding to racist coronavirus  taunts | South China Morning Postजोनाथन मक

गतवर्षको मार्चमा पनि बेलायतमा सिंगापुरका १६ वर्षका विद्यार्थी जोनाथन मकलाई कोरोना भाइरसकै विषयमा कुटपिट गरिएको थियो।

बेलायतको एक अध्ययनअनुसार गतवर्ष बेलायतमा जातिवादी दुर्व्यवहार ह्वात्तै बढेको देखिएको छ।

अध्ययनअनुसार गतवर्षको जनवरीदेखि जुनसम्ममा पूर्वी एसियालीजस्ता देखिने ४५७ जनामाथि आक्रमण भएको उजुरी प्रहरीमा परेको थियो।

चिनियाँजस्ता देखिने मानिसलाई चिनियाँ भाइरस भनेर दुर्व्यवहार भएको बताइएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .