ad ad

समाज


घाइते पत्रकार पण्डितलाई नेपालगञ्ज पठाउने तयारी

घाइते पत्रकार पण्डितलाई नेपालगञ्ज पठाउने तयारी

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:४७,

बाजुरा जिल्लाको उत्तर पूर्वी भेगका हिमाली गाउँपालिका-१ विच्छ्यामा लडेर घाइते भएका पत्रकार दयाराम पण्डितलाई थप उपचारका लागि नोलगञ्ज पठाउने तयारी गरिएको छ।

उनलाई प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडामार्फत उद्धार गरी कोल्टीमा ल्याइएको प्रेस युनियन बाजुराले जनाएको छ।

समाचार संकलनका लागि एक सातादेखि उक्त गाउँपालिकामा पुगेका रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पण्डित आइतबार सोही गाउँपालिकाको घट्टेबगर खोलामा काठको पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका हुन्।

लडेर घाइते भएका पत्रकार पण्डितको आइतबार स्थानीय प्रशासन र प्रदेश सरकारले उद्धार गर्न पहल गर्दा पनि अबेर भएकाले उद्धार हुन नसक्दा आज स्थानीयवासी र प्रहरीको सक्रियतामा घोडामा ल्याइएको प्रेस युनियनका सचिव तथा पत्रकार प्रशान्तराज जोशीले जानकारी दिए।

उनले विच्छ्या स्वास्थ्य चौकीमा सामान्य उपचारपछि आज नै पण्डितको घोडामार्फत उद्धार गरिएको बताए। घोडामा चढाएर पण्डितलाई हुम्ला जिल्लाको ताक्लाकोटबाट हिमाली गाउँपालिकाको गाडीमार्फत कोल्टी ल्याइएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताएका छन्।

गाउँपालिकाका अध्यक्षको पहलमा गाउँका स्थानीयवासीको घोडामा सो ठाउँ पुर्‍याएपछि सडकको पहुँच भएको ठाउँमा गाउँपालिकाको गाडीमा कोल्टी ल्याइएको अध्यक्ष मल्लले बताए। घाइते भएका पण्डितको थप उपचारका लागि हवाइ जहाजमार्फत नेपालगञ्ज पठाउने तयारी भएको अध्यक्ष मल्लको भनाइ छ।

लडेर घाइते भएका पण्डितको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ। उनको उपचार जिल्लामा सम्भव नहुने भएकाले हवाइजहाजमार्फत थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी थालेको मल्लले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .