लन्डनस्थित क्विन एलिजावेथ अस्पतालमा कार्यरत वरिष्ठ नेपाली नर्स सुमिता रेग्मीले कोरोनाविरुद्धको खोप सुरक्षित रहेको बताएकी छन्।
बेलायतमा रहेका नेपालीलाई खोप लगाउन उत्प्रेरित गर्न उद्देश्यले उनले नेपाली भाषामा जानकारीमूलक भिडिओ सन्देश जारी गरेकी हुन्।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा नेसनल हेल्थ सर्भिस ‘एनएचएस’ ले आफ्नो वेभसाइटमार्फत भिडिओ सार्वजनिक गरेको हो।
हाल बेलायतमा जातीय अल्पसंख्यकमा कारोनाविरुद्ध खोप लगाउन हुन्न भन्ने अफवाह र त्रास फैलिएपछि जनचेतना जगाउन एनएचएसले भिडिओ बनाएको हो।
‘बेलायतमा रहेका नेपालीहरुलाई खोपबारे सकारात्मक सोच राख्न म आग्रह गर्छु। खोप सुरक्षित छ। कसैको नकारात्मक अफवाहको पछि नलाग्नुहोला,’ नर्स रेग्मीले नेपालखबरसँग भनिन्, ‘यो खोप विभिन्न चरणको अनुसन्धानमा एसियाली र अफ्रिकी समुदायका रहेका मानिसहरुमा गरिएको परीक्षण प्रभावकारी देखिएपछि मात्र प्रयोगमा ल्याइएको हो। त्यसैले कसैले डराउनुपर्ने अवस्था छैन।’
डिमेन्सिया स्पेसालिस्ट नर्सका रुपमा कार्यरत सुमिताको अनुभवमा उमेर बढी भएकाहरुलाई कोरोना भाइरसले बढी नै च्यापेको देखिन्छ। उनले भनिन्, ‘हामीले बेलायतको गोरखा समुदायमा रहेका ७० वर्ष कटेकाहरुलाई जतिसक्दाे छिटो खोप लगाउन सबैले सहयोग गरौं।’
उनले एनएचएसको वेभसाइटमा राखेको सो भिडिओमा पालो आएलगत्तै बिनाहिच्किचाहट खोप लगाएर कोरोनाबाट आफू र आफ्ना परिवार तथा समुदायलाई जोगाउन सबैलाई आग्रह गरेकी छन्।
खोपबारे विभिन्न नकारात्मक हल्ला व्याप्त हुँदा उनले भिडिओमार्फत खोपमा कुनै जनावर र अण्डाको प्रयोग नगरिएको बताएकी छन्।
एनएचएसले विभिन्न जातीय अल्पसंख्यकलाई मध्यनजर गर्दै नेपालीसहित दर्जनभन्दा बढी भाषामा जानकारीमूलक भिडिओ सार्वजनिक गरेकाे छ। बेलायतमा हालसम्म १ करोड ३० लाखभन्दा बढी व्यक्तिले खोपको पहिलो डोज लगाइसकेका छन्।
भिडिओ
प्रतिक्रिया