ad ad

समाज


सिरियाको अतिसंवेदनशील क्षेत्रमा तैनाथ भए नेपाली शान्ति सैनिक

सिरियाको अतिसंवेदनशील क्षेत्रमा तैनाथ भए नेपाली शान्ति सैनिक

नेपालखबर
माघ ७, २०७७ बुधबार १०:५०,

संयुक्त राष्ट्रसंघको यूएनडीओएफअन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरु मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील क्षेत्रमा तैनाथ भएका छन्।

माउण्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो शिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गर्दै आइरहेका छन्।

यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ बर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम छ। यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएका छन्।

विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समूहहरुको चलखेल पनि बढी नै हुने गरेको छ।

करिब ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौजहरु मुस्ताङ्ग जिल्लाको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन्।

सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारीसाधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरु सञ्चालन गरिन्छ।

नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारबाहीको परिणामस्वरुप सिरियास्थित यूएनडीओएफ मिशनको फोर्स कमाण्डरजस्तो उच्च ओहोदामा नेपाली सैनिकहरुले काम गरिसकेका छन्।

यसअघि नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति भएका थिए।

हाल रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत रहेका नेपाली सेनाले जनाएको छ।

नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको उक्त मिसनमा नेपाली सेनाको डाक्टर अधिकृतसहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वको कारण विद्रोहीहरुबाट क्षति पु¥याइएका शान्ति सैनिकहरुको ब्यारेक संरचनाहरु पुनर्निर्माण र ब्यारेक स्थानहरुको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इन्जिनियर टिम पनि कार्यरत छ।

नेपाली सेनाको कार्यक्षमता, पेशागत दक्षता र विश्वसनीयताको कारण मिसनमा नेपाली शान्ति सैनिकहरुको संयुक्त राष्ट्रसंघ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .