चीनमा पनि कोरोना भाइरसको नयाँ स्वरूप (प्रजाति) फेला परेको छ। एक वर्षअघि चीनकै उहानबाट कोरोना विश्वभर फैलिएको हाे।
जसको नयाँ स्वरूप अझ संक्रामक बनेर हालै पहिलाेपटक बेलायतमा देखापरेकाे हाे। जुन अहिले एकपछि अर्काे गरेर अन्य धेरै देशमा फैलिरहेको छ।
यसै क्रममा चीनमा पनि पहिलाेपटक नयाँ कोरोनाको संक्रमण देखापरेको हो। न्युज एजेन्सी रोयटर्सका अनुसार चीनकी २३ वर्षीया एक महिलामा नयाँ कोरोनाको संक्रमण पुष्टि भएको हो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनकोे एक पब्लिकेसनलाई उधृत गर्दै रोयटर्सले याे समाचार लेखेकाे हाे।
यो पहिलो मामिला देखिनासाथ चीनले कडा सतर्कता अपनाउँदै बेलायत उडान बन्द गरिसकेको छ।
यसअघि धेरैजसो देशले बेलायत आवतजावत बन्द गरिसकेका छन्। कोरोनाको नयाँ प्रजाति पुरानोको तुलनामा ७० प्रतिशतसम्म बढी गतिमा फैलिने वैज्ञानिकले बताएका छन्।
फैलिने गति तीव्र भए पनि नयाँ किसिमको कोरोनाले निम्त्याउने स्वास्थ्य समस्या भने पहिलेकै जस्तो भएको खासै फरक नभएको बेलायतका वैज्ञानिकले दाबी गरेका छन्।
Shares
प्रतिक्रिया