दिल्लीलगायत भारतका विभिन्न स्थानमा शीतलहर सुरु भएपछि त्यहाँको माैसम विभागले चिसोबाट बच्ने उपाय अपनाउन सुझाव दिँदै गर्दै यस्तो बेला रक्सी पनि नपिउन चेतावनी जारी गरेको छ।
चिसोमा रक्सी नपिउन भन्ने चेतावनीचाहिँ किन त?
यसबारे बीबीसीले भारतीय मौसम विभागका क्षेत्रीय पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवसँग प्रतिक्रिया लिएको छ। उनले भनेका छन्, ‘चिसो मौसममा रक्सी पिउँदा शरीरको तापक्रम अझ कम हुन्छ।’
उनी अगाडि भन्छन्, ‘यस विषयमा स्वास्थ्य विज्ञले गरेको अनुसन्धानको निष्कर्षबमोजिम चेतावनी जारी गरेका हौं।’
तर आम मानिसको धारणा छ- जाडोमा रक्सी पिउँदा ज्यान तातो हुन्छ।
यसमा के छ वैज्ञानिक कारण?
विज्ञका अनुसार मानिसको शरीरको मूल तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ। जब बाहिरी वातावरणको तापक्रम घट्न थाल्छ, तब शरीरले आफ्नो तापक्रम कायम राख्ने प्रयास गर्छ।
तर जब शरीरको तापक्रम निर्धारित सीमाभन्दा कम हुन थाल्छ तब मानिसलाई ‘हाइपोथर्मिया’को समस्या हुन्छ। अर्थात् जब शरीरको मूल तापक्रम सीमाभन्दा धेरै कम हुन्छ, तब हाइपोथर्मिया हुन थाल्छ।
अब प्रश्न उठ्छ- उसो भए चिसो बढेका (कम तापक्रम भएका) बेला रक्सी पिउँदा शरीरलाई के असर हुन्छ?
दिल्लीस्थित एलएनजेपी अस्पतालका सीएमओ डा। ऋतु सक्सेना भन्छिन्, ‘जब तपाईं रक्सी पिउनुहुन्छ तब तपाईंको शरीरमा ‘भेजो डायलेसन’ हुन्छ। जसले गर्दा तपाईंका हात, खुट्टाका रक्तनली फैलिन्छन् र रक्त प्रवाह बढ्न थाल्छ। यसैकारण शरीर तातिएको महसुस हुन्छ।’
उनका अनुसार त्यसपछि मानिसले लगाएका मफलर, ज्याकेट, स्वेटरजस्ता न्याना कपडा फुकाल्न थाल्छन्। जसका कारण शरीरको मूल तापक्रम घट्न थाल्छ। तर थाहा छैन, यो स्वास्थ्यका लागि निकै घातक छ।’
म्याक्स हेल्थकेयरको औषधि विभागका सहनिर्देशक डा. रोमेल टिक्कु भन्छन्, ‘पक्कै तपाईंले देख्नुभएकै होला, रक्सी धेरै पिउने मानिसको अनुहार अक्सर रातो हुन्छ। कारण हो– रक्सी पिएपछि मानिसका बाहिरी अंग जस्तै : अनुहार, हात, खुट्टाका रक्त नलीमा रक्त प्रवाह बढ्छ। यसैकारण गर्मी भएको अनुभूति हुन्छ, किनकि शरीरको आन्तरिक अंगका रगत पनि बाहिरी अंगमा सर्छ। जसका कारण शरीरको मूल (भित्री) तापक्रम भने घट्न जान्छ।’
जाडोका बेला रक्सी पिउँदा ज्यानै जाने खतरा पनि हुन्छ कि?
डा. ऋतु सक्सेना भन्छिन्, ‘हो, जाडोमा ज्यादै रक्सी पिउँदा मृत्यु नै जोखिम पनि हुन्छ।’
उनी अगाडि भन्छिन्, ‘यदि तपाईं चिसो मौसममा धेरै रक्सी पिउनुहुन्छ भने तपाईं लुगा ठीकसँग लगाउन सक्नु हुन्न। किनकि रक्सीले दिमागमा असर पार्छ र मानिस आफू कहाँ कुन अवस्थामा छु भन्ने थाहा पाउँदैन। अनि शरीरको मूल तापक्रम ३७ डिग्रीभन्दा तल झर्छ र बिस्तारै–बिस्तारै उसलाई ‘हाइपोथर्मिया’को असर देखिन थाल्छ। जसले मानिसलाई कोमामा पुर्याउन सक्छ र अन्ततः मृत्यु नै पनि हुन सक्छ।’
Shares
प्रतिक्रिया