ad ad

समाज


साथीलाई अपहरण गरी बेपत्ता बनाउने व्यक्ति पुर्पक्षका लागि थुनामा

साथीलाई अपहरण गरी बेपत्ता बनाउने व्यक्ति पुर्पक्षका लागि थुनामा

नेपालखबर
पुस १६, २०७७ बिहिबार १५:५४,

आफ्नै साथीलाई बेपत्ता बनाएको आरोपमा विष्णुपुर गाउँपालिका–१ जमुनीका २५ वर्षीय सुरेन भनिने सुरेन्द्र यादव आज थुनामा परेका छन्। जिल्ला न्यायाधीश ऋषिराम आचार्यको इजलासले यादवलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बेपत्ता श्रवण मुखियाका बुवा मनोरथको जाहेरीमा अपहरण गरी मानिस बेपत्ता बनाइएको मुद्दामा यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

तीन वर्षपछि मलेसियाबाट घर फर्किएका मुखियालाई यादवले गत असोज २४ गते मोटरसाइकलमा चढाएर लागुपदार्थ सेवनका लागि भारततर्फ लगेको गाउँले बताउँछन्। भारत पुगेर लागुपदार्थ सेवन गरेर मातिएका अवस्थामा साँझ फर्किएका उनीहरूबीच मोबाइल हराएको विषयमा विवाद चर्किएपछि यादवले योजना बनाई हत्या गरेको अनुमान गरिएको छ।

मुखियाको हत्या गरी डाक्नेश्वरी नगरपालिका–६ स्थित पाँची नदीमा फालेको गाउँलेसँग स्वीकारेपछि नै गाउँलेले आरोपित यादवलाई असोज २८ गते प्रहरीसमक्ष बुझाएको प्रहरीले जनाएको छ। स्थानीयवासी हरेराम मण्डलका अनुसार मुखियाबारे गाउँलेले यादवसँग बसेर घण्टौं सोधखोज र केरकार गरेपछि असोज २७ गते राति २ बजे आरोपितले हत्या गरेको स्वीकारेका थिए।

मनोरथको बयानका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले पाँची नदी छेउमा रगतको टाटा र मुखियाको चप्पल फेला पारेको प्रहरी उपरीक्षक धमलाले बताए। स्काभेटर र रबर बोटसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले असोज २८ गतेदेखि बेपत्ता मुखियाको खोजी गरे पनि फेला नपरेको उहाँको भनाइ छ।

हत्याको आशंकामा खोजिएका मुखियाबारे पत्ता लाग्न नसकेपछि आरोपितविरुद्ध प्रहरीले कर्तव्य ज्यानको उजूरी दर्ता नगरी अपहरण गरेर मानिस बेपत्ता बनाएको मुद्दामा कारवाही थालेको हो। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अपहरण गरी मानिस बेपत्ता बनाएको उजूरी इलाका प्रहरी कार्यालय कल्याणपुरले गत मङ्सिर १७ गते दर्ता गरेको थियो।

लागुऔषध मुद्दामा अदालतको फैसलानुसार दुई महिनाको कैद भुक्तान गरिसकेका यादवलाई हाल अपहरण गरी मानिस बेपत्ता बनाएको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा राखिएको निमित्त कारागार प्रमुख सञ्जयकुमार रामले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .