ad ad

समाज


स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

नेपालखबर
साउन १८, २०७६ शनिबार २:५५,

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री ओली बेलुका पौने १० (९ः४५) बजे सिल्क एयरबाट सिंगापुर जाने कार्यक्रम छ।

सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न उनी त्यसतर्फ जान लागेका हुन्।

‘सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीज्युको स्वास्थ्य परीक्षण हुने छ। त्यो त्यहाँको सरकारी अस्पताल हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपालखबरसँग भने।

निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका प्रधानमन्त्री ओली त्यहाँ करिब एक साता बस्नेछन्।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरिसकेको छ। तर के–के परीक्षण गरिने भन्नेबारे सार्वजनिक गरिएको छैन ।

सैनिक अस्पतालमा उनको युएसजी ग्याइडेड रेनल बयोप्सी समेत गरिएको थियो। पछिल्ला परीक्षणहरुले उनको रगतमा क्रेटिनाइनो मात्रा बढेको देखाएका छन्। पिसाबबाट प्रोटिन जाने गरेको प्रारम्भिक अनुमान छ।

१२ वर्षअघि दुवै मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरमा सुगरको मात्रा घटबढ भएपछि स्वास्थ्य परीक्षण र आराम आवश्यक भएको हो।

उनले त्यतिबेला नयाँ दिल्ली र बैंकक गएर उपचार गराएका थिए। पछिल्लो समय उनी नियमित रुपमा फलोअपका लागि थाइल्यान्ड जाँदै आएका थिए।

२०७४ सालमा प्रधानमन्त्रीको शपथ लिनुभन्दा अगाडि पनि फलोअपका लागि बैंकक गएका थिए।

२०७१ असार ३१ गते तत्कालीन एमालेको अध्यक्षमा निर्वाचित भए लगत्तै उनी दायाँ हातमा देखिएको संक्रमणको उपचारका लागि सिंगापुर गएका थिए। त्यतिबेला पनि उनको एक सातासम्म उपचार भएको थियो। प्रधानमन्त्री ओलीलाई पछिल्लो समयमा धपेडीका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ।

प्रधानमन्त्री ओलीको यसपटक स्वास्थ्य परीक्षण हुने सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल तीन दशकअघि स्थापना भएको त्यहाँको सरकारी अस्पताल हो

सिंगापुरमा रहँदा उनले स्वास्थ्य परीक्षणका साथसाथै आराम पनि गर्नेछन्। आधुनिक सिंगापुरका निर्माता लि क्वान यूले सन् १९८५ मा यो अस्पताल स्थापना गरेका हुन्। रेफर अस्पतालको रुपमा रहेको एनयुएचमा साढे १२ सय सैय्या छन्।

आधिकारिक वेबसाइटअनुसार यो बालबालिकाका मृगौला र कलेजो प्रत्यारोपण गर्ने सिंगापुरको एक मात्रै सार्वजनिक अस्पतालमा हो। एनएचयुमा वयस्क मानिसको मृगौला, कलेजो तथा आमशय प्रत्यारोपण समेत हुनेगर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .