ad ad

समाज


समाजले घृणा गर्ने डरको कारण प्रदेश २ मा कोरोना जाँच गराउने घटे, घरमै बसेर निको हुने बढ्दै

समाजले घृणा गर्ने डरको कारण प्रदेश २ मा कोरोना जाँच गराउने घटे, घरमै बसेर निको हुने बढ्दै

शैलेन्द्र महतो
पुस २, २०७७ बिहिबार ४:३१,

जनकपुरधाम उपमहानगरपालिका ८ का ३४ वर्षीय गुड्डु साहलाई कात्तिक पहिलो साता अचानक अत्यधिक ज्वरो र रुघाखोकीले च्याप्यो। तीन–चार दिनपछि जिब्रोको स्वाद र बास्ना पनि हरायो।

श्वासप्रश्वासमा समेत हल्का समस्या देखियो। कोरोना संक्रमणको लक्षण देखिएपछि उनी घरमै आइसोलेसनमा बसे। औषधि, तातोपानी खाएर कतै नगइ घरमै बसे। झण्डै १० दिनपछि उनी निको भए। ‘कोरोना संक्रमणकै लक्षण देखिएको थियो। तर मैले परीक्षण गरिँन। रिपोर्ट पोजेटिभ आउँदा समाजले घृणा गर्ने डरले घरमै बसेँ। तातोपानी र औषधि खाएर निको भएँ,’ गुड्डुले भने।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ का अमित झाको घरमा भदौ दोश्रो साता परिवारका सबै सदस्य बिरामी भए। अमितका बुबा,आमा, श्रीमती चारवर्षीय छोरा सबैलाई अत्यधिक ज्वरो, रुघाखोकीले च्याप्यो । एकाएक परिवारका सबैले स्वाद र बास्ना थाहा पाउनै छोडे।

घरका सबैमा कोरोनाको लक्षण देखिएपछि कतै हल्लाखल्ला नगरी उनीहरु सबै घरमै बसे। ‘‘तातोपानी र औषधि खाएर बुबा, श्रीमती, छोरा ९/१० दिनमै समान्य अवस्थामा फर्किए। तर मलाई र आमालाई बढी समस्या भएकोले निको हुन १५ दिनभन्दा बढी लाग्यो,’ अमितले भने।

‘हामी सबैलाई कोरोनाकै लक्षण थियो । जँचाउँदा कोरोना पोजेटिभ नै आउँथ्यो। पोजेटिभ आयो भन्दा समाजले घृणा गर्न थाल्थ्यो। त्यो तनाव झेल्नु पर्छ भनेर कतै हल्ला नगरी घरमै औषधि उपचार गराएर हामी परिवारका सबैजना निको भयौं’, अमितले भने। त्यतिबेला रुघाखोकी लागेको मान्छेलाई खोजी खोजी क्वारेन्टाइन र आइसोलेशनमा राखिन्थ्यो। ‘सरकारी क्वारेन्टिन र आइसोलेसनमा धेरै समस्या छ भन्ने समाचार सुन्थेँ, पढ्थेँ । त्यसैले कसैलाई थाहै नदिइ घरमै बसेर ठिक भयौँ,’ उनले भने।

सप्तरी राजविराज नगरपालिकाकी–२७ वर्षीया प्रतिभा झालाई भदौ अन्तिम सातातिर अचानक रुघाखाकीसँगै ज्वरो आयो । विस्तारै स्वाद र बास्ना पनि हरायो । उनलाई कोरोना संक्रमणको अधिकांस लक्षण देखियो । परिक्षण गराउँदा पोजेटिभ आए छरछिमेकले घृणा गर्छन्, आइसोलेशनमा लग्छन् भन्ने डरले प्रतिभा पनि घरमै बसिन्।

‘बेसार, तातोपानी र औषधि खाएर निको भएँ,’ उनले भनिन्। उनकी एक वर्षीया छोरी पनि छन्। कोरोना संक्रमणको सबै लक्षण देखिएको बेला आफु सतर्क भएर उनले छोरीलाई पनि स्याहारिन्। ‘भाग्यबस छोरीलाई केहि भएन । घरमै बसेर १२ दिनपछि निको भएँ । तर कोरोनाको सबै लक्षण ममा थियो । अरुले घृणा गर्छन् भनेर नै मैले जचाँइनँ,’ प्रतिभाले सुनाइन्।

गुड्डु, अमित र प्रतिभा जस्तै लक्षण बर्दिबास नगरपालिका १ की ३१ वर्षीया मनिषा खतिवडालाई पनि थियो। उनले पनि घरमै आइसोलेट भएर औषधि उपचार गराइन्। ११/१२ दिन पश्चात निको भइन्।

‘एकसाता अघि मात्रै दाईलाई पनि कोरोना जस्तै लक्षण देखियो। उहाँले पनि चेक गराउनु भएन । घरमै औषधि खाएर केहिदिनपछि निको हुनुभयो। मलाई पनि त्यस्तै हुँदा कोरोना नै हो भनेर जँचाइन्’ मनिषाले भनिन्, ‘त्यतिबेला हाम्रो छिमेकमा धेरैलाई त्यस्तै समस्या थियो। जसले चेक गराए उनीहरुलाई पोजेटिभ आयो । तनाब झेल्नु पर्यो। जसले गराएनन्, उनीहरु केही दिनपछि सामान्य अवस्थामा फर्किए। घरमै औषधि खाएर निको भए । मैले पनि त्यहि गरेँ।’

गुड्डु, अमित, प्रतिभा र मनिषा मात्र होइन् अचेल कोरोनाको लक्षण देखिए पनि धनुषासहितका जिल्लामा धेरैले परीक्षण नै गराउँदैनन् । समाजमा कोरोना संक्रमितलाई घृणाको दृष्टिकोणले हेर्ने, नराम्रो ब्यबहार गर्ने जस्ता समस्या अझै पनि छ। जसको डरले मानिसहरु लक्षण देखेपनि स्वाब परीक्षण गर्न अपठ्यारो मान्ने गरेका छन्।

पछिल्लो समय कोरोना संक्रमण लुकाउने प्रवृति बढेको छ । कतिपय व्यक्ति संक्रमित हुँदा समेत चेकजाँच नगराएर लापरवाही गर्दै घुमफिर समेत गर्ने गरेका छन्। लकडाउन, हाटबजार, विद्यालय खुलेर भीडभाड बढेको छ। मास्क सेनिटाइजर प्रयोग गर्नेको कमी, हता नधुने जस्ता लापरवाही पनि व्याप्त छ।

पछिल्लो समय प्रदेश २ मा संक्रमण दर घटेको सरकारी तथ्यांकमा देखिन्छ। असार, साउन, भदौ, असोज महिनामा दैनिक सयदेखि माथि साढे ३ सयको संख्यामा संक्रमित भेटिन्थे। तर कार्तिकदेखि दैनिक सयभन्दा कम संख्यामा संक्रमित भेटिने गरेका प्रदेश २ को समाजिक विकास मन्त्रालयको तथ्यांक छ। प्रदेश २ मा आजभोली दैनिक ५० भन्दा कम संख्यामा संक्रमित भेटिने गरेका छन्।

बुधबारसम्म प्रदेश २ मा १६ हजार ९ सय ७६ जना कोरोना संक्रमित भएका छन्। समध्ये उपचार पश्चात १६ हजार ३ सय ४० जना निको भएका समाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट प्रदेश २ मा २०२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

हाल प्रदेशका आठवटै जिल्लामा गरी सक्रिय संक्रमित ६ सय ३६ जना मात्र छन् । महोत्तरी जिल्ला बाहेक ७ वटा जिल्लाको क्वारेन्टाइन खाली छ। आठ जिल्लाको १ सय ४२ क्वारेन्टाइन मध्ये महोत्तरीको दुईवटा क्वारेन्टाइनमा ३० जना र होम क्वारेन्टाइनमा १ सय १ जना बसिरहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

संक्रमण घटेकै हो त?
लकडाउन खुलेसँगै हाटबजार, विद्यालय खुलेर भीडभाड बढेको छ। मास्क सेनिटाइजर प्रयोग नगर्ने, साबुन पानीले हात नधुने, समाजिक दुरी कायममा ध्यान नदिने जस्ता लापरवाही पनि बढेकै छ। तर प्रदेश २ मा संक्रमण दर भने दैनिकको तथ्यांकमा कम छ।

सरकारले तोकेको मापदण्ड अनुसार चेकजाँचको दायरा कम भएकाले संक्रमितको संख्या घटेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए। ‘पहिलो संक्रमित भेटिँदा उसको सम्पर्कमा गएका व्यक्तिहरुलाई ट्रेसिंङ गरी अनिवार्य परिक्षण गरिन्थ्यो। तर अहिले सरकारले नै बढी समस्या हुने व्यक्तिलाई मात्र परिक्षण गर्ने नियम बनाएको छ,’ बरिष्ठ अधिकृत झाले भने, ‘जाँचको दायरा नै कम भएकोले संक्रमितको संख्या घटेको हो। परीक्षण गर्ने हो भने संख्या ह्वात्तै बढ्छ।’

उनले पहिलेको मापदण्ड अनुसार परिक्षण भए धेरै संख्यामा संक्रमित भेटिने तर्क गरे। कोरोनाको लक्षण देखिए समाजमा घृणाको दृष्टिले हेरिन्छ भन्ने मानसिकताले परीक्षण नगराउने प्रवृति बढेको उनको भनाइ छ। जाडो याममा कोरोना भाइरस बढी सक्रिय हुने भएकाले यसलाई समान्य रुपमा नलिइ सावधानी अपनाउन वरिष्ट अधिकृत झाले आग्रह गरे।

‘जाँचको दायरा कम भएसँगै मानिसमा पहिले जस्तो कोरोनाप्रति भयत्रासको वातावरण पनि छैन,’ प्रदेश २ सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न आवश्यक सल्लाहसुझाको लागि गठन गरेको चिकित्सकहरुको विज्ञ समितिका संयोजक डा.रामकेवल साहले बताए।

‘पहिले भन्दा अहिले लापरवाही बढेकै हो । लकडाउन खुल्यो । सबै ठाउँमा भीडभाड बढेको छ । मास्क सेनिटाइजरको प्रयोग पनि भइरहेको छैन। समाजिक दुरीको पालना हुँदैन। यधपि तथ्यांकमा संक्रमित कम देखिएका छन्। यो परिक्षण नै कम भएर हो,’ साहले भने ‘अब मानिसहरुले कोरोनालाई समान्य रुपमा लिन थालेका छन् । जाँच गराउन जाँदैनन् । कोरोना लुकाउँछन् । घरमै औषधि खाएर निको हुन्छन्।’

कोरोनाबाट मृत्यु दर अत्यन्तै कम रहेको र त्यसमा पनि गम्भीर अवस्थामा पनि थोरै मानिस मात्र पुग्ने गरेकाले मानिसमा डरत्रासको वातावरण पहिले जस्तो नरहेको उनले बताए। ‘अहिलेको लापरबाहीले भोलिका दिनमा अवस्था भयाबह हुन सक्छ। कोरोना संक्रमणलाई समान्य रुपमा लिन हुँदैन,’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .