वैदेशिक रोजगार विभागले शुक्रबार ३ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालका अनुसार विभागले स्काई अफ द वल्र्ड म्यानपावर प्रालि, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि र सुर्खेत ओभरसिज प्रालिमा छापा मारेको हो।
वैदेशिक रोजगारीका लागि भन्दै भिजिट भिसामा श्रमिक पठाउन लागेको सूचना आएपछि छापा मारेको दाहालले बताए।
विभागले इम्पावर ह्युमन र स्काई अफ द वल्र्ड म्यानपावरबाट श्रमिकका पासपोर्ट, कम्प्युटर, विभिन्न कागजात नियन्त्रणमा लिएको छ।
तर, सुर्खेत ओभरसिजका कर्मचारी भने अनुगमन टोली नपुग्दै कार्यालय बन्द गरेर हिँडेको पाइएको छ। अनुगमन गरिएका म्यानपावर कम्पनीलाई उचित जवाफसहित तत्काल कार्यालयमा उपस्थित हुन पत्र काटिएको विभागले जनाएको छ।
यसअघि गतसाता पनि राजधानीका तीन वटा म्यानपावर कम्पनीमा अवैध रुपमा अन्तर्वार्ता लिएर श्रमिक भर्नाको प्रक्रिया थालेको भेटिएपछि विभागले छापा मारेको थियो।
प्रतिक्रिया