ad ad

समाज


बलात्कारीविरुद्ध बर्दिबासको सडकमा थिए संजय, प्रहरीको गोलीले तिघ्रा छेड्यो

बलात्कारीविरुद्ध बर्दिबासको सडकमा थिए संजय, प्रहरीको गोलीले तिघ्रा छेड्यो

शैलेन्द्र महतो
मंसिर १०, २०७७ बुधबार १६:१५,

सामाजिक कार्यमा सदैव अग्रपंक्तिमा रहने बर्दिबास नगरपालिका–१ का ४३ वर्षीय संजय न्यौपानेले सोमबार बिहान एक बालिका बेपत्ता भएको खबर पाए।

बर्दिबास नगरपालिका १४ शुभम् टोलकी सहिद आलमकी छोरी ६ वर्षीया गुलाब साह खातुन गएको आइतबार साँझदेखि बेपत्ता भएकी थिइन्। सोमबार बिहान छरछिमेकले बालिका बेपत्ता भएको विषयमा खासखुस गरेपछि न्यौपानेले थाहा पाए।

बर्दिबासमै दुई महिनाअघि आफ्नै घरमा थापेको किराना पसलमै भएको बेला सुनेको बालिका बेपत्ताको खबरले उनलाई चिन्तित बनायो। दिनभर गम्भीरतापूर्वक बालिकाको खोजखबरमा चासो राखे। सोमबार राति २ बजे शुभम् बस्तीकै एक झाडीमा बालिकाको शव बोरामा फेला परेको संजयले एकाबिहानै थाहा पाए।

खबर सुन्ने बितिकै उनी हतपत घटनास्थलतिर लम्किए। न्यौपानेका परिवारका सदस्यहरु समेत ‘कुन पापीले यसरी अवोध बालिकालाई मारेर फाले’ भन्दै घटनास्थल पुगे।

आइतबार साँझ चकलेट किन्न अरुण किराना पसलमा गएकी बालिका गुलाबलाई पसल सञ्चालक २५ वर्षका अरुणले नै बन्धक बनाएर बलात्कार गरी हत्या गरेको र बोरामा शव राखेर फालेका थिए। सोमबार साँझ पक्राउ परेपछि अरुणले प्रहरीलाई यही बताएका थिए। सोहि आधारमा बालिकाको शवसम्म प्रहरी पुगे।

यस्तो निर्मम र क्रुर घटनाको विरुद्धमा बिहानैदेखि बर्दिबासका स्थानीय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिए। प्रदर्शनको अग्रपंक्तिमा उभिए संजय। बालिका गुलाबका हत्यारालाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने मागसहित प्रदर्शन भएको थियो।

त्यस क्रममा पक्राउ परेका आरोपी अरुणको घरमा आक्रोशित स्थानीयले ढुंगामुढा गर्दै आगो लगाए। प्रहरीले घर बचाउन र आगो निभाउन केही सेल अश्रुग्यास र हवाई फायर गरे। तर प्रदर्शनकारी टसको मस भएनन्। घर जलिरह्यो। स्थानीयको भीडले दिउँसो १ बजेतिर बालिकाको शव घटनास्थलबाट लगेर बर्दिबास चौकमा पूर्व–पश्चिम रामार्ग अवरुद्ध गरी प्रदर्शन गर्न थाल्यो।

अवरुद्ध राजमार्ग खोलाउन र बालिकाको शव नियन्त्रणमा लिन प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरे। भागदौडको क्रममा एक गोली संजयको तिघ्रामा लाग्यो। तिघ्रा छेडेर गोली आरपार भएपछि उनी त्यहिँ ढले।

‘प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेपछि काका त्यहिँ ढल्नु भयो’, प्रदर्शनमा संजय न्यौपाने सँगै रहेका भतिज सौगात न्यौपानेले भने, ‘हामीले काकालाई उठाएर पिनाक अस्पताल लग्यौं। शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले यसरी गोली चलाउँछन् भन्ने हामीले कल्पना समेत गरेका थिएनौं।’

संजयलाई लागेको एउटै गोली दुवै तिघ्राको आरपार भयो। पिनाक अस्पतालमा उपचार हुन नसकेपछि संजयलाई हेलिकप्टरबाट काठमाडौं लगेर ग्राण्डी अस्पतालमा भर्ना गरियो। मंगलबार राति उपचारकै क्रममा संजयले दम तोडे।

बर्दिबास सेवा समितिका सदस्य समेत रहेका संजयको मृत्यु प्रहरीको गोली लागेर भएपछि बर्दिबासमा बुधबार ठूलो विरोध प्रदर्शन भयो। साँझ चार बुँदे सम्झौता भएपछि बल्ल प्रदर्शन रोकियो।

बुबा विश्वनाथ न्यौपाने र आमा अम्बिका देवीका माहिलो छोरा संजयको मृत्युले उनको परिवारमा बज्रपात भएको छ। गोली लागेकै बेलादेखि श्रीमती गंगादेवी न्यौपाने विक्षिप्त भएको संजयका भतिज सौगातले सुनाए। संजयका तीन छोराछोरी छन्। जेठी छोरी १८ वर्षीया शिक्षा कक्षा १२, कान्छी छोरी १५ वर्षीया दीक्षा कक्षा ९ र छोरा १३ वर्षीय शुभम् कक्षा ६ मा पढ्दै छन्।

‘काकाको एक्लो मिहिनेतले उहाँको परिवार चलेको थियो। छोराछोरीहरु लेखपढ गरिरहेका छन्। परिवारमाथि नै बज्रपात भएको छ’, चिन्ता व्यक्त गर्दै भतिज सौगातले भने, ‘सोच्नै नसकिने घटना भयो। एक त अवोध बालिकाको बलात्कार पश्चात हत्या हुन्छ। त्यसमा न्यायको लागि भइरहेको शान्तिपूर्ण प्रदर्शनमा पनि यसरी प्रहरीले अन्धाधुन्ध गोली चलाउँछन्। हाम्रो परिवारमाथि भएको क्षति कसले पुर्छ?’

दुई महिना अघि आफ्नै घरमा किराना पसल थाप्नुअघि संजय सानोतिनो ठेक्का पट्टाको काम गर्थे। स्थानीय होटल व्यवसायी पर्मेश्वर महतोका अनुसार संजय सामाजिक कार्यहरुमा निकै अग्रसर हुने गर्थे।

‘मैले उहाँलाई सानैदेखि चिनेको छु। उहाँ निकै सहयोगी भावनाको व्यक्तित्व हुनुहुन्थ्यो। दुःख परेको बेला जोसुकैलाई आफूबाट हुने सक्दो सहयोग गर्दै आउनु भएको थियो’, महतोले भने।

अन्याय अत्याचार विरुद्ध लड्ने एक योद्धा थिए संजय। कसैमाथि कसैले अन्याय त्याचार गरेको, अनाहक दुःख दिएको कुरामा उनी पीडिको पक्षबाट वकालत गर्ने गर्थे।

‘संजय बर्दिबास सेवा समितिको स्थापनाकालदेखि नै सदस्य हुनुहुन्थ्यो। हरेक सामाजिक कार्य र गतिविधिमा उहाँ सहभागी बन्नुहुन्थ्यो। अन्याय अत्याचार विरुद्ध जहाँ पनि अग्रपंक्तिमा रहेर आवाज उठाउनु हुन्थ्यो’, बर्दिबास सेवा समितिका अध्यक्ष हिरा गौतम भन्छन्, ‘संजय जस्ता योद्धाको मृत्युले हाम्रो बर्दिबास सेवा समिति र यहाँको समाजलाई अपूरणीय क्षति पुगेको छ।’

प्रहरीको गोली लागेर संजयको मृत्युको घटनाले बुधबार बर्दिबासमा आन्दोलन झनै उग्र बन्यो। संजयलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कडा कारबाही गर्नुपर्ने लगायतका माग स्थानीय बासिन्दाले राखे।

बुधबार बिहानदेखि बर्दिबासमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्।

प्रदर्शनले जनजीवन अस्तव्यस्त भएपछि साँझ वार्ता भएर चार बुँदे सम्झौता भएको छ। पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .