बोम्बो (झाँक्री) संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन आयोजना हुने भएको छ। नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौँमा आगामी पुस १४ र १५ गते सम्मेलन आयोजना गर्ने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ हुने सम्मेलनले विश्वका झाँक्री समुदायलाई एकीकृत गर्ने तथा परम्परागत संस्कृति प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्ने सम्मेलनको लक्ष्य छ। सम्मेलनमा युरोप र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका बोम्बो झाँक्रीसमेत गरी करीब एक हजारको सहभागिता रहने आयोजकले जनाएको छ।
अहिले भारत, भुटान तथा जर्मनीबाट धेरै सङ्ख्यामा झाँक्री अउने निश्चित भइसकेको छ। चीनलगायत अन्य मुलुकसँग पनि सम्पर्क भएको समाजले उल्लेख गरेको छ। समाजका अध्यक्ष महाराज भोम्जनले विश्वका बोम्बोहरुलाई एकताबद्ध गर्दै बोम्बो संस्कार र संस्कृति प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले पहिलो पटक बोम्बो सम्मेलन आयोजना गर्न लागिएको बताए।
उहाँले सम्मेलनमार्फत बोम्बो संस्कृति, आदिवासी जनजाति पहिचान मात्रै नभई नेपालकै संस्कृति अभिन्न अङ्गका रुपमा प्रस्तुत गरिने उल्लेख गरे। झाँक्रीलाई कुरीती संस्कारका रुपमा हेरिने गरेको र त्यस्तो नकरात्मक धारणालाई सामाजिक रुपमै परिवर्तन गर्न बोम्बो समुदाय एकजुट भएर अघि बढ्ने संस्थाले जनाएको छ।
यकिन विवरण नभएपनि अहिले नेपालका १५ जिल्लामा बोम्बो समुदाय छन् । हालै स्थापना भएको बोम्बो संस्थामा अहिले १०० भन्दा बढी बोम्बो झाँक्री आबद्ध भइसकेका छन्। बोम्बो संस्कृतिको अनुसन्धान तथा प्रवद्र्धन गरी विश्वलाई सन्देश दिन संस्थाले अयिभान नै सञ्चालन गर्ने संस्थाका महासचिव विष्णुबहादुर तामाङले बताए।
पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले झाँक्री समुदायको उत्थान, प्रवद्र्धन गरी पर्यटकीय ‘प्रडक्ट’ को रुपमा विकास गरिनुपर्नेमा जोड दिए। दुईदिने सम्मेलनमा बोम्बोले प्रयोग गर्ने विभिन्न हस्तकलाको सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ।
प्राचीनकालदेखि बोनहरुले प्रयोग गर्दै आइरहेका सामग्री ड्याङग्रो, गजा, घण्टी माला, रुद्राक्ष माला, रिठा माला, बुद्धचित्त माला, हर्बोटे माला, बिरु माला, सर्पको हड्डीको माला, डमरु, धुपौरोसमेत प्रदर्शनमा राखिने बताइएको छ। विभिन्न देशका बोम्बो संस्कृतिबारे प्रतिवेदन प्रस्तुत हुनुका साथै बोम्बोसम्बन्धी विज्ञबाट कार्यपत्र प्रस्तुत गरी ‘बोम्बो घोषणा पत्र, नेपाल–२०२०’ सार्वजनिक गरिनेछ। सम्मेलनका लागि अनुमानित रु ३५ लाख खर्च हुने र टानलगायत विभिन्न निकायबाट सहयोग जुटाइने जनाइएको छ।
नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक प्रमुख पात्रका रुपमा बोम्बोलाई लिने गरिन्छ। समाजमा कूल पूजा गर्नेदेखि झारफुक, औषधि उपचार गर्नेसमेतलाई बोम्बो झाँक्री भन्ने गरिन्छ। उपचारको तन्त्र मन्त्र जानेका यस्ता मानिसलाई बोन र बोम्बो भन्ने गरिन्छ। बोम्बो शब्द प्राचीन तिब्बतको प्रचलित पुरानो ‘प्वोवा’ धर्मको शब्द अपभ्रंश भई ‘पोन्पो’ र ‘बोन्बो’ भएको मानिन्छ। आदिम कालखण्डदेखि नै नेपालमा बोम्बो झाँक्री संस्कृति रहेको विभिन्न मानवशास्त्रीको अध्ययनले देखाएको छ। रासस
प्रतिक्रिया