ad ad

समाज


‘प्रिन्सिपलसँग छलफल गरिरहँदा गुरुले एक्कासी लाठीले पिट्न थाले, अनि भागाभाग भयो...’

‘प्रिन्सिपलसँग छलफल गरिरहँदा गुरुले एक्कासी लाठीले पिट्न थाले, अनि भागाभाग भयो...’

गोकुल जोशी
कात्तिक १३, २०७७ बिहिबार १४:१८,

मकवानपुर मोरङ्गेका १७ वर्षीय नविन तामाङ ६ वर्ष अगाडि बौद्ध लामा पढाईका लागि भारतको देहेरादुनको भवनपुरस्थित शाक्य एकेडेमीमा गएका थिए। 

६ वर्षको अवधिमा नविन खासै घरतिर आएनन्। तीन वर्ष अघि एक पटक मात्रै स्कुलको विदामा घर आएका थिए। हाल कक्षा ६ मा अध्ययरत नविनलाई यस वर्षको दसैँमा आमा–बुवा, दाईलाई भेट्न मन लाग्यो। अनि घर आउन स्कुलमा विदा माग्ने विचार गरे।

सोही स्कुलमा कक्षा ६ मै अध्ययरत बाग्लुङको निसिखोला गाउँपालिका–५ का भुमिराज घर्तिमगरको पनि अवस्था उस्तै छ। बौद्ध लामा पढाईका लागि भुमिराजलाई उनका दाइले ६ वर्ष अगाडि देहरादुन पु¥याएका थिए। लामो समयदेखि घरपरिवारलाई भेट्न नपाएका उनीहरुलाई आमा–बुवाको न्यास्रो लागेको थियो। नविन र भुमिराज मात्रै होइन सो स्कुलमा अध्ययरत ५३ जना नेपालीले दशैँमा घर जानका लागि स्कुलमा निवेदन दिएका थिए।

बौद्ध लामा तथा अंग्रेजी पढाई हुने शाक्य एकेडेमीमा नेपालका विभिन्न ठाउँबाट विद्यार्थीहरु जाने गरेका छन्। सो स्कुलमा अहिले झण्डै दुई सय जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। उनीहरु सबैको उमेर र अवस्था लगभग एकै छ। लामो समयदेखि घर आउन नपाएका विद्यार्थीहरुले दसैँको मौका पारेर घर आउने निधो गरे।

तर उनीहरुले विदा पाएनन्। बरु सोही निहुँमा एकेडेमीका अध्यक्ष एवम् गुरु ज्ञाना बज्रा रिम्पोचेले नेपाली विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको विद्यार्थीहरु बताउँछन्। दसैँमा विदा मागेको निहुँमा गुरुले विद्यार्थीहरुमाथि कुटपिट गरेको नविन तामाङले बताए।

Dehradun-returnee-students-22.jpg

सोमवार ५३ नेपाली विद्यार्थीले विभिन्न कारण देखाउँदै विदाको माग गरी प्रिन्सिपल थिरिङ सोइडेनलाई निवेदन दिए। एकै पटक ठूलो संख्यामा विद्यार्थी घर गइरहेकोले आश्चर्य मान्दै प्रिन्सिपल थिरिङले सोही दिन दिउँसो १२ बजेतिर विद्यार्थीेहरुलाई बोलाएर सम्झाउन खोजिरहेकी थिइन्।

त्यो बेला विदाको निवेदन दिएका ५३ मध्ये ४७ जना उपस्थित थिए तर बाँकी ६ जनाले नाम फिर्ता लिएको नविन बताउँछन्। उनका अनुसार प्रिन्सिपलले सम्झाउँदै गर्दा एक्कासी आएर गुरुले विद्यार्थीमाथि कुटपिट गरेको हो।

‘विदाका बारेमा प्रिन्सिपलसँग छलफल हुँदै थियो। एक्कासी आएर गुरुले पिटाई गर्न थाल्नु भयो’ नविनले नेपालखबरसँग भने, ‘लठ्ठीले पिट्न थालेपछि भागाभाग चल्यो। म कोठामा गएर बचेँ।’

उनका अनुसार गुरुको पिटाईबाट काभ्रेका १७ वर्षीय छ्याङ तामाङको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य केहीलाई पनि चोट लागेको उनले बताए। तर पिटाई हुँदा आफू भागेकाले कति जनामाथि कुटाई भयो आफूले यकिन गर्न नसकेको भुमिराज बताउँछन्।

एकै पटक धेरै विद्यार्थी घर फर्किरहेकाले स्कुल खाली हुने चिन्ताले गर्दा आवेशमा आएर गुरुले कुटपिट गरेको उनले बताए।

‘गुरुआमा डग्मो सोनम गम्भीर बिरामी हुनुहुन्थ्यो। अनि धेरै विद्यार्थी गइरहेकोले स्कुल बन्द हुन्छ भनेर आवेगमा आएपछि कुटपिट गर्नु भयो’ उनले भने।

गुरुले स्कुलमा विद्यार्थीमाथि कुटपिट गरेपछि त्यहाँबाट विद्यार्थी भागेर आउन बाध्य भएका छन्। सोही स्कुलबाट भागेका ३ जना बिहीवार कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी पुगे। बुधवार राति स्कुलबाट भागेका नविन, भुमिराज र दार्जलिङका ससन लामा बिहीवार बिहान गड्डाचौकी नाका पुगेका हुन्।

उनीहरुसँगै सोही ठाउँको अन्य स्कुलबाट भागेका दार्जिलिङका दुई जना पनि थिए। नेपाली प्रमाण पत्र भएका नविन र भुमिराजलाई नाका प्रवेश गराएर गन्तव्यतिर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दार्जिलिङका तीन जनालाई भारतीय प्रहरीसँग समन्वय गरेर त्यहीँको बाटो दार्जिलिङ पठाइएको हो।

विदा नदिँदा भागेर नाकामा पुगेका नविन र भुमिराजले अब देहरादुन नफर्कने बताएका छन्।

‘आफूहरुले निवेदन दिनु भन्दा २-३ दिन अगाडि १८/२० जनाले घर जान पाएका थिए। हामी पनि घर जान पाउछौँ की भनी निवेदन दियौँ तर पाएनौँ। भागेर आउनु प-यो’ भुमिराज भने, ‘खाना, बस्न त राम्रो थियो। बौद्ध लामा पढेर झ्याउ लाग्यो। अब त्यता जाँदिन। यतै पढ्छु।’

देहरादूनमा नेपाली कुटिएको स्कुलबाट दुई नेपाली विद्यार्थी आइपुगे महेन्द्रनगर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .