ad ad

समाज


समयमै भेन्टिलेटर नपाएर उपत्यकामा एक कोरोना संक्रमितको मृत्यु

समयमै भेन्टिलेटर नपाएर उपत्यकामा एक कोरोना संक्रमितको मृत्यु

नेपालखबर
असोज १९, २०७७ सोमबार १५:२७,

समयमै भेन्टिलेटर नपाएका कारण उपत्यकामा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सात दिनदेखि ललितपुरको स्टार अस्पतालको आइसियूमा उपचाररत ७० वर्षीय संक्रमितको अवस्था झनै बिग्रिएपछि चिकित्सकले भेन्टिलेटर सपोर्ट आवश्यक रहेको बताएका थिए।

स्टारमै भेन्टिलेटर नभएपछि मृतकका छोराले सामाजिक अभियान्ता सुवास अधिकारीलाई भेन्टिलेटरका लागि पहल गरिदिन अनुरोध गरे।

सुवासले राजधानीका सबै अस्पतालमा भेन्टिलेटरका लागि फोन गर्दा समेत नपाइएको बताए।

‘निकै प्रयासपछि साँझ ६ बजे बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालले मंगलबार एक भेन्टिलेटर उपलब्ध हुने बताएको थियो। तर आजै साँझ ८ बजे उहाँले प्राण त्याग्नुभयो,’ सुवासले नेपालखबरसँग भने।

उनले उपत्यकाका पाटन, वीर, शिक्षण लगायत सम्पूर्ण अस्पतालमा फोन गरेपनि कही पनि भेन्टिलेटर खाली भएको जानकारी नपाएको बताए।

‘भेन्टिलेटर बैंकमार्फत भेन्टिलेटर उपलब्ध गराइरहेको संस्थालाई पनि मैले सम्पर्क गरे। तर उहाँहरुसँग पनि भेन्टिलेटर उपलब्ध छैन भन्नुभयो,’ सुवासले भने, ‘संक्रमितहरुको संख्या बढेसँगै जटिल बिरामीको संख्या पनि बढ्दो छ। राज्य जनता भन्दा पनि स्वास्थ्य सामाग्री जोहोमा निरीह भएको मैले पाए।’

पछिल्लो समय नेपालमा कोरोनाबाट जटिल अवस्थामा पुगेको संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सोमबारसम्म २४४ जना आइसियू र ४३ जना भेन्टिलेटरमा उपचाररत छन।

स्वास्थ्यमन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबारको प्रेश ब्रिफिङमा मात्रै देशभर ९ सय वटा भेन्टिलेटर भएको बताएका थिए। तर उनले दाबी गरेकै दिन उपत्यकामा एक व्यक्तिको भने भेन्टिलेटर नपाएरै बिरामीको मृत्यु हुनु दुखद रहेको आफन्तको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .