ad ad

समाज


छोटिँदै दिन, कति घण्टा घट्यो?

छोटिँदै दिन, कति घण्टा घट्यो?

नेपालखबर
असोज १३, २०७७ मंगलबार १:५५,

औपचारिक रूपमा वर्षा याम (मनसुन) बिदा हुन बाँकी रहे पनि मुलुकमा हिउँद (जाडो) यामका लक्षण सुरु भइसकेका छन्।

सामान्यतया नेपालबाट मनसुन बाहिरिनुपर्ने मिति यही सेप्टेम्बर २७ हो। तर भनेकै दिन यो बाहिरिँदैन। दुई चार दिन तलमाथि पर्छ। अझ केही वर्षयता मनसुन अलि लामो समयसम्म रहने गरेको छ। यसपालि पनि मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन्।

तर वर्षा हुने क्रम ह्वात्तै घटेको छ भने देशका धेरैजसो स्थानमा बिहानैदेखि घाम देखिन थालेको छ। आज (मंगलबार) पनि देशका थोरै स्थानमा हल्का वर्षाबाहेक खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

हिउँद सुरु हुन लागेसँगै दिनप्रतिदिन चिसो बढ्दै गएको छ भने दिन छोटिन र रात लम्बिन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार सबैभन्दा लामो दिन मानिने जुन २१ लाई आधार मान्दा दिन एक घण्टा घटिसकेको छ।

त्यसताक सामान्यतया (ठ्याक्कै होइन) बिहान ६ बजे सूर्य उदाउने र साँझ ७ बजेतिर अस्ताउने हुन्थ्यो भने अहिले औसतमा ६ बजे घाम झुल्किने र ६ बजेतिरै डुब्ने भइरहेको छ।

‘यो ठ्क्याक्कै तथ्यांक हेरिएर भनिएको होइन, २–४ मिनेट तलमाथि होला,’ मौसमविद् अर्यालले मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै भने, ‘आजको हेर्नुहुन्छ भने बिहान ५ बजेर ५६ मिनेटमा सूर्य उदाएको छ, साँझ ५ बजेर ५३ मिनेटमा अस्ताउने देखिएको छ।’

यस आधारमा लगभग एक घण्टा दिन छोटो भइसकेको उनले बताए। दैनिक औसतमा ४५ सेकेन्डदेखि १ मिनेटसम्म दिनको समय क्रमश: घट्दै गएकाे उनले जानकारी दिए।

‘यसरी क्रमशः दिनको समय घट्दै डिसेम्बर २२ मा सबैभन्दा छोटो दिन हुन्छ,’ मौसमविद् अर्यालले भने, ‘त्यस दिन बिहान ६ बजेर ५६ मिनेटतिर सूर्य उदाउँछ भने ५ बजेर ९ मिनेट जस्तोमा घाम डुब्छ।’

यसरी दिन छोटिने उच्चतम बिन्दुमा पुगेपछि भने पुनः दिन बढ्ने र रात छोटिने क्रम सुरु हुने उनले बताए।

आजको मौसम
यतिबेला काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बिहानैदेखि घाम देखिएको छ।

मौसमविद् अर्यालका अनुसार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ। याे भनेकाे बादल पनि लाग्ने र घाम पनि देखिने अवस्था हाे। 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

यस्तै राति पनि प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

मौसमविद् अर्यालका अनुसार आज काठमाडौं उपत्यकामा वर्षाको खासै सम्भावना छैन। तर साँझपख हल्का पानी पर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .