कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका भोजराज जोशी सोमबार बिहानै पश्चिमी सीमानाका गड्डाचौकीमा भेटिए। झोली–झिम्टा बोकेर जोशीसँगै गाउँका ६/७ अरु पनि थिए। उनीहरु रोजगारीका लागि भारत जान लागेका हुन्।
भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखा पर्दा संक्रमणको सन्त्रासमा गत वर्ष चैततिर स्वदेश फर्किएका उनीहरुले झण्डै ६ महिना घरमै बिताए। भारतबाट रातदिन नभनी पसिना चुहाएर कमाएको पैसा घरखर्चमा सकिएपछि जीविकोपार्जनका लागि स्वदेशमा नै रोजगारी खोजे। तर केही रोजगारी नै पाएनन्।
कोरोनाको डरले घर फर्किएहरु स्वदेशमा केही रोजगारी नपाएर जीविकोपार्जन गर्नै धौ–धौ परेपछि महामारीकै बीच फेरि भारततिरै हानिनथालेका हुन्। पछिल्लो समय पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टामा भारत जानेको लर्को लागेको छ।
आजभोलि भारतबाट फर्किएका सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिस नाकामा झोली–झिम्टासहित आफ्ना लालाबाला बोकेर रोजगारीका लागि भारत पसिरहेका देखिन्छन्। गड्डाचौकी नाकाबाट आइतबार सोमबार बिहान ९ बजेसम्म ४८ जना भारत पसेको तथ्याङ्क छ।
‘भोकले मर्नुभन्दा त रोगले मर्नु नै बेस’ भन्दै भारतबाट फर्किएकाहरु पुनः कामको खोजीमा त्यतै लाग्नथालेका हुन्।
‘६ महिना घरमै बसेँ, केही काम नै पाइन। मजदुरी पनि पाइएन’, भोजराज जोशीले नेपालखबरसँग भने, ‘त्यसैले कामको खोजीमा बैङलोर जाँदै छौँ।’ रोगभन्दा भोकले मर्ने अवस्था सृजना भएपछि कामको खोजीमा भारत जानुपरेको नवराज जोशी बताउँछन्।
‘रोगभन्दा भोकले मर्ने अवस्था आयो। केही काम नपाउँदा घरखर्च चलाउनै मुस्किल छ’, उनले भने, ‘सरकारले पनि हामीलाई हेरेन। अब रोगको केही डर छैन, काम गर्न भारत नजाने हो भने त खाना नपाएर भोकभोकै मर्नुपर्छ।’
भारतमा एक/दुई जना संक्रमित भेटिँदा डरले घर फर्किएको सुनाउँदै शुक्लाफाँटा नगरपालिका–३ का मुकेश जोशीले हजारौँ मानिसको मृत्यु भइरहेको अवस्थामा फेरि भारत जानुपर्ने बाध्यता रहेको गुनासो गरे।
‘महामारीकै बीचमा पनि परिवार पाल्न भारत जानैपर्ने बाध्यता छ। यस्तो अवस्थामा परदेशिनु हाम्रो रहन होइन बाध्यता हो। हाम्रो यो पीडा सरकारले सुन्दैन’, उनले भने, ‘स्वदेशमै रोजगारी दिए, हामीले अहिले नै फर्किन तयार छौँ।’
तीनै तहका सरकारले रोजगारीका कार्यक्रम ल्याए पनि त्यसमा आफ्नै मान्छे, नातेदारलाई राख्ने गरेको गुनासो गर्छन्, उनी। रोजगारीका लागि भारत जान पनि चर्को शुल्क तिर्नुपरेको महेश रावतले बताए।
‘ऋण काढेर काम गर्न जानुपरेको छ। अहिले काम गर्ने स्थानसम्म पुग्नै २५ हजार पैसा खर्च हुन्छ’, उनले भने, ‘अगाडि ३ हजारसम्म हुन्थ्यो।’
‘सरकारले रणनीतिक योजना ल्याउन सकेन’
भारतबाट फर्किएका युवा जनशक्तिहरुलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा पुनः भारततर्फ जानुपरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्ल बताउँछन्।
तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनको टिप्पणी छ।
‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो। तर सरकारले सीपमूलक रोजगारी सिर्जना गर्न सकेन। सरकारले केही रणनीतिक योजना नै ल्याएन’, उनले भने, ‘त्यसैले जहाँबाट जनशक्ति आएका थिए, त्यही जान बाध्य भएका छन्।’
५ दिनमा १५ सय जना भारत गए, १२ सय भित्रिए
कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत आउजाउ भइरहेको छ । भारतबाट स्वदेश फर्किनेभन्दा भारततर्फ जानेहरुको संख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रशासनको तथ्याङ्कअनुसार भदौको १७ गतेयता २१ गतेसम्म गौरीफन्टा नाकाबाट १ हजार ३ सय ४५ र गड्डाचौकी नाकाबाट २ सय ३८ गरी १ हजार ५ सय ८३ जना भारततर्फ गएका छन्। सोही अवधिमा गौरीफन्टा नाकाबाट ९ सय २७ र गड्डाचौकी नाकाबाट ३ सय ३९ गरी १ हजार २ सय ६६ जना भित्रिएका छन्।
के भन्छ प्रदेश सरकार ?
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले कामको लागि भारत जानुपर्ने बाध्यता हटाउने वाचा व्यक्त गरेका थिए। तर मुख्यमन्त्री भट्टको त्यो बोली केवल बोलीमै सीमित भएको भन्दै आलोचना हुनथालेको छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले भारतबाट स्वदेश आएका युवा जनशक्तिका लागि रोजगारी सृजना गर्ने कुनै ठोस योजना ल्याएको छैन। जसले गर्दा स्वदेशमै रोजगारीविहीन भएर जीविकोपार्जन गर्नै धौ–धौ परेपछि कामको खोजीमा भारत जानुपर्ने बाध्यता सिर्जना भएको हो।
भारतबाट फर्किएकाहरुको सीप पहिचान गरी उनीहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम ल्याउन स्थानीय तहलाई भनिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर बहादुर विष्टले बताए। स्थानीय तहहरुले रोजगारीमा जोड्ने गरी विभिन्न कार्यक्रम ल्याएको उनको दाबी छ।
प्रतिक्रिया