ad ad

समाज


सीडीओ खतिवडाले विदाई हुँदै गर्दा दिए पाँच बेसहारा वृद्धवृद्धालाई नागरिकता

सीडीओ खतिवडाले विदाई हुँदै गर्दा दिए पाँच बेसहारा वृद्धवृद्धालाई नागरिकता

गोकुल जोशी
भदौ १९, २०७७ शुक्रबार १४:५७,

कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बस्ने ७५ वर्षीय गोरख खड्का अरु दिन भन्दा हर्षित मुद्रामा देखिन्छन्।

७५ वर्षसम्म नेपाली नागरिकता नै नपाएका खड्का नागरिकता पाएपछि खुसी भएका हुन्। बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रका ५ जना वृद्धवृद्धाले ढल्किँदो उमेरमा भए पनि शुक्रवार नेपाली नागरिकता पाए। त्यसैले ‘जीवनको उत्तरार्ध’मा भए पनि नेपाली नागरिकको प्रमाण पाउँदा निकै खुसी महसुस भएको गोरख खड्का बताउँछन्। 

‘बल्ल आज आएर नेपाली नागरिकता पाइयो। धेरै खुसी लागेको छ’ उनले भने, ‘जीवनको अन्तिम समयमा भए पनि नेपाली नागरिकताको पाएको छु।’

अर्का वृद्धा कलावती भण्डारीले आमाबुवाले गर्ने काम ‘सीडीओ साव’ले गरेर अभिभावकत्व लिएको बताइन्।

बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा खड्का जस्तै २० जना बेसाहारा वृद्धवृद्धा छन्। तीमध्ये पाँच जनासँग नेपाली नागरिकता थिएन। शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बेदकोट नगरपालिका– ८ स्थित वृद्धाश्रममै पुगेर पाँच जना नेपाली नागरिकताविहीन वृद्धवृद्धाहरुलाई नागरिकता वितरण गरिएको हो।

cdo-nagarikata2.jpg

कञ्चनपुरको ‘गौरीफन्टा नाका’बाट हुने अवैध कारोबार रोक्न कदम चालेपछि राजनितिक दबाबमा गृहमन्त्रालय तानिएका सीडीओ नूरहरी खतिवडा आफैँ वृद्धाश्रम पुगेर नागरिकताविहीन पाँच वृद्धवृद्धालाई नागरिकता वितरण गरेका थिए। ७३ वर्षीया कलावती भण्डारी, ७२ वर्षीय धन बहादुर खड्का, ७५ वर्षीय गोरख बहादुर खड्का, ७२ वर्षीया पाल्मा धामी र ७४ वर्षीया लक्ष्मी धामीलाई नागरिकता वितरण गरेका हुन्।

बेसाहारा वृद्धवृद्धाको घरपरिवारमा कोही मानिस नभएकाले जीवनयापनमा सहजताका लागि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्।

‘उहाँहरुको न बुवाआमा छन् न कोही। त्यसैले नागरिकता बनाउन सक्दैनन्। वृद्धाश्रममा बस्ने वृद्धवृद्धाले नागरिकताको दुरुपयोग पनि गर्दैनन्’ प्रशासकीय अधिकृत भट्टले भनिन्, ‘त्यसैले सामाजिक सुरक्षा भत्ता पाउनमा पनि सहज होस् भनेर नागरिकता प्रदान गरिएको हो।’

२०७६ माघ अन्तिमतिर कञ्चनपुर आएका सीडीओ खतिवडाको गृहमन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा गृहले रामकुमार महतोलाई पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .