चन्द्रमामा मानिस पुगेको आइतबार ५० वर्ष पूरा भएको छ। मानव जातिले हाँसिल गरेको यो ऐतिहासिक सफलता अवसरमा नेपालसहित विश्वभरि विभिन्न कार्यक्रम भइरहेका छन्।
चन्द्रमामा मानव पुगेको विषय र नेपालको सगरमाथाबीच अनौठो संयोग र सम्बन्ध छ।
वि.सं. २०२६ साउन ५ मा अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रोङले पहिलो पटक चन्द्रमा पाइला टेके। एउटा संयोग के छ भने उनी एपोलो ११ मिसनमार्फत् चन्द्रमामा पाइला राखेको दिन सगरमाथा प्रथम आरोहीमध्येका एक सर एडमन्ड हिलारी ५० वर्ष पुगेका थिए।
सगरमाथा र चन्द्रमाबीच अर्को संयाेग पनि रहेको छ। करिब १० वर्षदेखि चन्द्रमा र सगरमाथाको चट्टान सँगसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीको परिक्रमा गरिहेका छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथालाई चन्द्रमासँग जोड्ने काम अमेरिकाका अन्तरिक्ष यात्री स्कट पाराजिन्स्कीले गरेका हुन्।
भिडियो:
उनले २०६६ जेठ ५ मा चन्द्रमाको चट्टान बोकेर सगरमाथाको सफल आरोहण गरेका थिए। ओर्लंदा उनी सगरमाथा शिखरको चट्टान लिएर फर्किए। जसलाई पछि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा पु¥याइयो।
पाँच पटक अन्तरिक्ष आरोहण गरेका उनले सगरमाथा चढ्ने कामलाई आफ्नो जीवनकै सबैभन्दा कठिन शारीरिक र मानसिक चुनौती मानेका छन्। वि.सं.२०६५ मा पनि उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए। पहिलो प्रयासमा उनी सफल हुन सकेनन्।
‘सगरमाथाको चट्टान र सगरमाथाका शिखरमा पु¥याएर फर्काएको चन्द्रमाको चट्टानलाई पछिसँगै राखेर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा लगेर राखियो,’ हिमाल आरोहणबारेका अध्येता छवीरमण पोखरेलले नेपालखबर भने, ‘त्यसयता सगरमाथा चुचुरोमा लगेर फर्काइएको र सगरमाथाको चट्टानका टुक्राले पृथ्वीको चक्कर लगाइरहेका छन्।’
चन्द्रमाको चट्टान सगरमाथामा
पाराजिन्स्की सगरमाथा आरोहण गर्ने पहिलो अन्तरीक्ष यात्री हुन्। नेसनल एरोनोटिक्स एन्ड स्पेश एडमिनिस्ट्रेसन (नासा)ले चट्टान नं. १००८५,१३४ लाई सगरमाथामा लैजान अनुमति दिएको थियो। सो चट्टान उपलब्ध गराएको थियो।
यो चन्द्रमाको सतहमा उत्रिएको यान इगल भन्दा ५ मिटर उत्तरतर्फबाट निल आर्मस्ट्रोङले पृथ्वीमा ल्याएको चट्टानको टुक्रा हो। त्यसको तौल ०.०५२ ग्राम थियो। २०६६ फागुन १७ मा अन्तरिक्ष केन्द्रमा कार्यक्रम गरी चन्द्रमा र सगरमाथाका दुवै ढुंगालाई राखिएको हो।
२०६६ पुस २२ पाराजिन्स्कीले नासालाई चन्द्रमा र सगमारथाबाट ल्याएको चट्टान बुझाए। आरोहणको क्रममा उनले चट्टान मात्रै पुर्याएका थिएनन्। अन्तरिक्ष जीवविज्ञका लागि विषम परिस्थितिमा हुने जीवनबारेमा तथ्यांकहरु समेत संकलन गरेका थिए।
‘विषम परिस्थितिमा बाँच्नेहरुको जीवनबारे बुझ्न सक्यौं भने मंगलग्रहमा जीव विकास सम्भावनाबारे बुझ्न सहयोगी हुन्छ,’ युनिभर्स टुडेसँग उनले भनेका छन्।
पाँच पटक अन्तरिक्षमा पुुगेका उनले ४७ घण्टा स्पेशवाक गरेका थिए। अन्तर्राष्ट्रिय स्पेश स्टेसन निर्माणमा उनको योगदान महत्वपूर्ण मानिन्छ।
सगरमाथा आरोहण, अन्तरिक्ष यात्रा र उडानबारे उनले ‘द स्काई बिलो’ नामक पुस्तक लेखेका छन्।
प्रतिक्रिया