ad ad

समाज


नेपाल युवा किसान पार्टीका अध्यक्षको कोरोनाबाट मृत्यु, अन्त्येष्टि गर्दैगर्दा आयो रिपोर्ट

नेपाल युवा किसान पार्टीका अध्यक्षको कोरोनाबाट मृत्यु, अन्त्येष्टि गर्दैगर्दा आयो रिपोर्ट

प्रकाश न्यौपाने
भदौ ७, २०७७ आइतबार १०:४८,

नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष संजय कुमार मिश्रको मुत्युपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका बासिन्दा ५३ वर्षीय मिश्रको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहवामा मृत्यु भएको थियो। उनको शब नेपाल ल्याएपछि नेशनल प्याथ ल्याव बुटवलमा पीसीआर जाँच गर्न पठाइएको थियो।

आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। यस्तै, गाउँपालिका र मृतकका परिवारले समेत संजयलाई कोरोना पुष्टि भएको जनाएका छन्।

सुगर र प्रेसरका विरामी मिश्रलाई थप उपचारका लागि भन्दै शनिबार आफन्तले भारततर्फ लग्दै थिए। भारततर्फ लैजानुभन्दा अघि उनको आरडीटी टेष्ट गरिएको थियो। आरडीटी टेष्टको रिपोर्ट नेगेटिभ आएकाले भारततर्फ उपचारका लागि लगिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए।

‘आरडीटी नेगेटिभ आएपछि भारततर्फ लगियो। बाटामै मुत्यु भएपछि नेपाल ल्याएर पीसीआर जाँच गर्न दिइएको रहेछ। आज रिपोर्ट आउँदा पोजेटिभ आयो’, उनले भने।

भारत जानु अघि उनले रुपन्देहीका कुनकुन अस्पतालमा उपचार गराउन गएका थिए भन्ने खुलेको छैन।

कोरोना पुष्टि भएपछि शब जलाइयो
मिश्रलाई कोरोना भाइरस पुष्टि भएको थाहा हुँदाहुँदै पनि आफन्तले शब जलाएका छन्।

‘१२ बजे मिश्रलाई कोरोना पुष्टि भएको थियो। लगत्तै हामीले प्रशासन र गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराएका थियौं। तर शब जलाउनु भएछ’, शाहले भने।

उनले शब नजलाउन आग्रह गर्दासमेत जलाइएको जनाए। चितामा राखेर जलाउनै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै मलामी भागाभाग गरेको जनाए। उनले भने, ‘जलाउने सबै तयारी पूरा भएको थियो। त्यसैले नजलाउनू भन्दा कसैले मानेनन्, शव जलाए। तर कयौं मान्छे जानकारी पाएपछि त्यहाँबाट तुरुन्त बाहिरिए।’

उनको मलामीमा कतिजना थिए भन्ने अझै एकीन भएको छैन। गाउँपालिका र स्वास्थ्य कार्यालयले फरक फरक तथ्यांक दिएका छन्। गाउँपालिका अध्यक्ष यादवले मलामी १ सय भन्दा केही बढी भएको बताए पनि स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले भने ४ सय भन्दा बढी मलामी भएको आफूले जानकारी पाएको बताए।

‘मलाई पालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले मलामी ४ सय भन्दा बढी भएको जानकारी गराउनु भएको छ’, उनले भने।

गाउँपालिकाले शब जलाइसकिएकाले मृतकका आफन्त, मलामीमा सहभागी सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिसकेको अध्यक्ष यादवले बताए।

यता मृतक मिश्रका आफन्त कृष्णचन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संजयलाई कोरोना पुष्टि भएकाले मलामी गएका सबै र आफन्तहरुलाई सुरक्षित बस्न आग्रह गरेका छन्। कृष्णचन्द्रले फेसबुकमा मृतक मिश्र र उनको कोरोना जाँचको ल्याव रिपोर्टसमेत पोष्ट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .