ad ad

समाज


अस्पतालबाटै फैलिँदै कोरोना संक्रमण

अस्पतालबाटै फैलिँदै कोरोना संक्रमण

रमेश गिरी
भदौ ६, २०७७ शनिबार ७:५८,

धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना संक्रमण भयो। निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन्।

धुलिखेल अस्पतालका बिरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना संक्रमण भएपछि अस्पताल सिल गरिएको छ। धुलिखेल अस्पताल आउनेजाने गर्नेहरु धेरै भएकाले यहीँबाट संक्रमण समुदायमा फैलिने त्रास बढेको  अस्पतालमा उपचार गराएर फर्किएको कोटेश्वर निवासी एक संक्रमित बताउछन्।

अस्पताल व्यवस्थापनको लापर्वाहीले धुलिखेल अस्पतालबाट मात्रै विभिन्न जिल्लामा संक्रमण फैलिएको आशंका गरिएको छ। कोभिड र कोभिड नभएका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा र अस्पतालले व्यवस्थापन राम्रोसँग नगर्दा अस्पतालबाटै संक्रमण फैलिने त्रास भएको कर्मचारी नै बताउँछन्। धुलिखेल अस्पताल अगाडिका एक व्यापारी भन्छन्, ‘अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो।’

अस्पतालमा उपचारका लागि साँगाबाट गएका रामनाथ श्रेष्ठका अनुसार अस्पतालमा बाहिर ज्वरो नाप्नेबाहेक अस्पतालले अरु केही गर्न नसकेको गुनासो गर्छन्। अस्पतालमा एक बिरामी एक कुरुवा गर्न नसकेको, अस्पतालका वार्डदेखि दाँतको उपचार गर्ने ठाउँसम्म बिरामीसँग प्रत्यक्ष भेट हुने नर्सहरुले गाउन, मास्क र पञ्जा मात्रै लगाउने तर पीपीई नलगाउने गर्दा एकबाट अर्कोमा संक्रमण फैलिने त्रास बढेको उनी बताउछन्।

धुलिखेल अस्पतालका विभिन्न विभागका कर्मचारीमा पनि संक्रमण बढ्दै गएको काभ्रे जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय हरिशरण कार्कीले बिहान, बेलुका कर्मचारी ओसार्ने धुलिखेल अस्पतालका बस असुरक्षित रहेको गुनासो गर्छन्। सरकारले दुईवटामध्ये एउटा सिटमा एक जना बस्ने भने पनि दुईवटै सिटमा कर्मचारी बस्ने गरेको, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट नर्स, दन्त्य चिकित्सक र अन्य कर्मचारी आउने जाने गरेको बताउँदै कार्कीले भने, ‘अस्पतालका स्टाफ भनेर के गर्नु, कसैको हातमा पनि पञ्जा देखिंदैन, सँगै सिटमा बसेर आएका हुन्छन्, एउटै बस धुलिखेलबाट उपत्यका घुमेर आउँदा कोरोना संक्रमण पक्कै फैलाउँछ, यहाँ अस्पतालबाटै समुदायमा संक्रमण फैलिरहेको छ।’

सूर्यविनायक नगरपालिका­५ कटुञ्जेमा एकै परिवारका सबैमा कोरोना संक्रमण भेटियो। उनीहरुको यात्रा विवरण भनेको नेपाल­–कोरिया मैत्री नगरपालिका अस्पतालमा बिरामी कुर्ने र फर्कने गरेको पाइएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मध्यपुर अस्पताल र नागरिक अस्पताल गठ्ठाघरमा अन्य रोगको उपचारमा आएका बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको तर अस्पतालले सावधानी नअपनाएको बिरामी एवं कुरुवाको गुनासो छ। भक्तपुरमा अहिलेसम्म ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये सबभन्दा धेरै अस्पतालका बिरामी, बिरामी कुरुवा, बिरामी भेट्न जानेहरु रहेको कार्यालयका प्रमुख कृष्ण मिजार बताउछन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विभिन्न रोगको उपचारका लागि विभिन्न अस्पतालको सम्पर्कमा आएका कति प्रतिशतलाई संक्रमण छ भनेर अनुसन्धान गर्ने बताछिन। उनी सावधानी नअपनाउँदा अस्पतालबाट पनि सङ्क्रमण फैलिने भएकाले अत्यावश्यक कामबाहेक अस्पताल नजान आग्रह गर्छिन्। धुलिखेल अस्पताल नमूना मात्रै हो, अन्य अस्पतालको अवस्था पनि उस्तै छ।

अस्पतालका सवारी साधनमा ओहोरदोहोर गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरेको, अस्पतालका गाडीको बाहिर­भित्र दैनिक डिसइन्फेक्सन नगरेको, अस्पतालको कर्मचारीलाई पीपीईलगायतका अत्यावश्क सुरक्षा सामग्रीको उपलब्धता नगराई काममा लगाउने गर्दा कर्मचारीबाटै पनि घर तथा समुदायमा संक्रमण फैलिएको हुनसक्ने भएकाले संक्रमितको अनुसन्धान आवश्यक रहेको डा. होमप्रसाद आचार्य बताउछन्। अस्पताल व्यवस्थापनको लापरबाहीका कारण पनि संक्रमण फैलिने भएकाले कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक रहेको डा. आचार्यको भनाइ छ।

सरकारले निजी अस्पताललाई २० प्रतिशत शय्या कोभिडका बिरामीलाई छुट्याउन निर्देशन दिनुभन्दा निश्चित मेडिकल कलेज, अस्पताललाई सरकारले अस्थायी रुपमा नियन्त्रणमा लिई कोभिडका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउनुपर्ने बताउछन् डा. सलिम चौधरी। कोभिडका बिरामी र कोभिड नभएका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने बताउँदै उनले सरकारले कोभिड अस्पताल घोषणा गरेर फरक फरक अस्पतालमा उपचार गर्नु पर्ने बताउँदै डा. चौधरीले चीनमा गरिएको उपचारको शैलीबाट नेपालले सिक्नु पर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .