सर्लाहीका शिवु महतोका १२ वर्षीय छोरा सुमन दुई महिनादेखि धनुषास्थित मावली घरमा बस्दै आएका थिए।
लकडाउनको समयमा मिथिला नगरपालिका ४ स्थित रामउदगारको घरमा बस्दै आएका सुमन साथीभाइसँग खेल्न पाउँदा रमाउँथे।
खेल्ने क्रममा सोमबार बिहान सुमन स्थानीय ८–१० जना साथीसँगै मावली गाउँ नजिकै मिथिला नगरपालिका ६ मा पर्ने जगधर खोला किनारमा पुगे। खेल्ने क्रममा उनीहरुको ध्यान क्रसर माफियाले खनेको खाल्डोमा जमेको पानीमा पर्याे।
सबै साथीहरु पौडी खेल्न र नुहाउन भन्दै खाल्डो तिर होमिए। पौडी खेल्ने क्रममा पालैपालो पानी जमेको खाल्डोमा हाम फाले। सुमनले पनि हाम फाले तर, पौडी खोल्न नसकेर क्रसर माफियाले खनेको गहिरो खाल्डोमै उनको ज्यान गयो।
क्रसर व्यवसायीले प्रहरी प्रशासनकै मिलेमतोमा एकवर्ष अघि त्यहाँबाट १५ देखि २० फिट गहिरोसम्म खनेर गिट्टीबालुवा झिकेका थिए। त्यो खाल्डो वर्षाको बेला पानी जमेर पोखरी जस्तै बनेको छ।
खाल्डोमा डुबेर बालक सुमनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्ख कार्कीले बताए । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
पोखरामा आमाबुबासँग बसेर पढ्दै आएका २२ वर्षीय अनिलकुमार महतो लकडाउनमा कलेज बन्द भएपछि केहिदिन अघि आफ्नो घर धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिज आए।
साउन २२ गते उनले पनि साथीहरुसँगै नुहाउन जाने योजना बनाए। नक्टाझिजको पश्चिम तर्फको बसही खोलाको पश्चिम किनारमा क्रसर माफियाले खनेको अन्दाजी १५ फिट गहिरो खाल्डोमा जमेको पानीमा साथीहरुसँगै उनले पनि नुहाउन थाले। अनिलले पानीमा हाम फाले। खाडलमा उनी तुरुन्तै बेपत्ता भए।
सबैले अनिलकाे खोजविन गर्न थाले । गाउँलेहरु समेत आएर खोजविन गरे । झण्डै एकघण्टापछि उनी बेहोस अवस्थामा भेटिए। अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो।
क्रसर माफियाले अवैध रुपमा गिट्टी बालुवा निकाल्न खनेका थुप्रै खाल्डा धनुषाका नदी र खोलाहरुमा देख्न सकिन्छ। जसमा वर्षाको बेला मात्र पानी जन्मे गर्छ।
अनिललाई ज्यन लिएकै खाल्डोमा २/३ दिनअघि अए अर्का युवक नुहाउ जाँदा डुबेका थिए। तर तुरुन्तै ती युवकको उद्धार हुँदा बाँच्न सफल भएका स्थानीय विनोद महतोको भनाइ छ।
गएको ४ साउनमा बर्दिवास नगरपालिका १४ बस्ने १६ वर्षीय रोहित मिश्र साथीहरुसँग रातु खोलामा नुहाउन गए। क्रसर माफियाले खनेको खाल्डोमा जमेको पानीमा उनी पनि परे।
दुईजना साथीसँगै नुहाउन गएका रोहित अकसमात खाल्डोको बीचभागमा पुगे। उनीसँगै गएका दुईजना साथीले उद्धार गर्ने प्रयास गरे। तर सकेनन्।
प्रहरी गुहारे । इलाका प्रहरी कार्यालय बर्दिबासको टोली पुगेर उद्धार गरी बर्दिबासको शुभ स्वस्तिक अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे।
बर्दिबासको पूर्वबाट बग्ने रातु खोला किनरमा १८–२० फिट गहिरा सयौँ खाल्डाहरु छन्। जुन वर्षाको बेलामा पानी जमेर पोखरी जस्तै बन्छन्।
क्रसर माफियाले ग्राइभेल झिकेको खाल्डोमा वर्षामा पानी जम्दा त्यो कति गहिरो छ भन्ने अन्दाज किशोरहरु गर्दैनन्। त्यसैले क्रसरमा माफियाले खनेका यस्ता ज्यानमारा खाल्डाखुल्डीका सिकार समुन, अनिल र रोहित जस्ता किशोर भइरहेका छन्।
यी संचारमाध्यममा आएका घटनाहरु मात्र छन्। यस्ता खाल्डोमा कयौं डुबेका घटना छन्, जुन संचारमाध्यममा आउँदैन। सरकारले चारफिट गहिरोसम्म खनेर मात्र गिट्टीबालुवा झिक्न ठेकेदारलाई अनुमति दिने गरेको छ।
पटक-पटक अवैध खोला उत्खनन् भइरहेको घटनाको जनस्तरमा व्यापक विरोध हुन्छ। ठेकेदार र क्रसर माफियाले मापदण्ड अनुसार नै ग्राइभेल खनेको दावी गर्छन्।
उनीहरुको अवैध धन्दालाई कारबाहीको साटो कमिसन लिएर मिलेमतोमा स्थानीय सरकार, स्थानीय प्रशासन तथा स्थानीय राजनैतिक दलका बोलबालाहरुले संरक्षण दिँदै आएका छन्।
यस्तै अवैध खोला उत्खनन्काे विरोध हुँदा २५ पुस २०७६ मा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोको औहरी खोलामा क्रसर माफियाले टिपरले किचेर विभत्स हत्या गरेका थिए। गएको जेठ २१ गते धनुषाको बडहडी खोलामा अवैध उत्खननको विरोध गर्दा स्थानीय २० वर्षीय संजय महतोमाथि क्रसर डनले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए।
यस्ता घटनाहरुले क्रसर माफिया र तिनलाई संरक्षण गर्ने स्थानीय सरकार तथा प्रहरी प्रशासनको कालो धन्दालाई उदांगो पारेको छ।
स्थानीय सरकार गम्भीर नभएसम्म अवैध नदी दोहान तथा उत्खनन् नियन्त्रण हुन नसक्ने जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झा बताउँछन्।
‘हामी अनुगमन/नियमन गर्छौं। त्यस्तो अवैध उत्खनन् र बदमासीगर्नेलाई कारबाहीको लागि प्रहरी प्रशासनलाई सिफारिस पनि गर्ने गरेका छौं’, उपसभापति झाले भने, ‘तर यसप्रति स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार गम्भीर देखिँदैन। जसको कारण मापदण्ड भन्दा बढी उत्खनन् हुने गरेको छ। सबभन्दा बढी स्थानीय सरकार जिम्मेबार नभएसम्म यो रोक्न ग्राह्रो छ।’
प्रतिक्रिया