ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आज पार्क निर्माणको शिलान्यास गरे। भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजनाका साथ पार्क निर्माणको काम सुरु भएको हो।
भोटोजात्रा भन्दा पहिले नै पार्कको निर्माण सकिने मेयर महर्जनले बताए। भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा जेष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको उनले बताए।
बालमैत्री र अपाङ्गमैत्री पार्क निर्माण गर्ने महानगरपालिकाको योजनाअनुसार निर्माण सुरु भएको हो। महानगरपालिकाको वातावरण सुधार, सार्वजनिक जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ। पार्क निर्माणका लागि महानगरले ९४ लाख ६१ हजार ४ सय ८४ रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया