ad ad

समाज


कार्यविधिबिनै गाउँपालिकाले वितरण गर्‍यो १५ सय ५१ ग्यास सिलिन्डर, खरिद पनि बजार मूल्यभन्दा २ सय बढी

कार्यविधिबिनै गाउँपालिकाले वितरण गर्‍यो १५ सय ५१ ग्यास सिलिन्डर, खरिद पनि बजार मूल्यभन्दा २ सय बढी

प्रकाश न्यौपाने
साउन १०, २०७७ शनिबार ७:११,

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पर्ने सम्मरीमाई गाउँपालिकाले करिब डेढ महिनाअघि वडा नं. ६ मा १ हजार ५ सय ५१ थान ग्यास सिलिन्डर वितरण गर्यो। यसका लागि आर्थिक वर्ष २०७६र०७७ मा ५५ लाख रुपैयाँ बजेट छुट्याएको थियो।

गाउँपालिकाले सिलिन्डर सहयोग गर्दा गाउँका गरिबदुःखी र विपन्नलाई मात्रै वितरण गर्नुपर्ने हो। कुनै कार्यविधि र मापदण्ड नबनाई वितरण गरिँदा जमिनदारसहित, ग्यास भएका नभएका सबैले पाए।

सामान्यतः सरकारी सहयोग तल्लो वर्गका मानिसलाई दिने भनिन्छ। तर, यहाँ मापदण्डविनै धनाढ्यले समेत सरकारी राहत पाए। ७ हजार ७ सय घरधुरी रहेको पालिकामा यसअघि लकडाउनकाबेला पनि ७० लाख रुपैयाँको राहत बाँडिएको थियो। उक्त समयमा पनि प्रत्येक घरधुरीलाई राहत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले बताए।

पालिकाले १ हजार ५ सय ५१ वटा सिलिन्डर खरिद गर्न ४५ लाख ७५ हजारमा पञ्चमहालक्ष्मी ग्यास कम्पनीको उत्पादन स्वस्तिक ब्राण्डसँग खरिद सम्झौता गरेको थियो। यहीँ ग्यास एउटा डिलरले लिँदा दुई हजार सात सय ५० मा खरिद गर्छन्। तर, पालिकाले एकैपटक यति धेरै सिलिन्डर सिधैँ कम्पनीसँग खरिद गर्दासमेत प्रत्येक सिलिण्डरबाट दुई सय बढी रकम लिएको छ।

सिधैँ कम्पनीबाट ठूलो परिणाममा सिलिन्डर खरिद गर्दा रकम अझै कम हुनुपर्ने हो। तर, बजार मूल्यभन्दा बढी तिरेर सिलिन्डर खरिद गरिएको छ। यसले स्थानीय तहमा कतिसम्म मनपरी छ भन्ने प्रष्ट्याउँछ। चालु आर्थिक वर्षमा बाँकी अन्य वडाहरुमा पनि ग्यास सिलिन्डर वितरण गर्ने पालिकाको योजना रहेको अध्यक्ष जितेन्द्रनाथ शुक्लाले बताए।

यसका लागि प्रत्येक वडामा २५÷२५ लाखका दरले बजेट विनियोजन गरिएको छ। तर, अघिल्लो आवको जस्तै बढी मूल्य तिरेर खरिद गरेमा ७७ सय घरधुरीलाई सिलिन्डर वितरण गर्दा ग्यास सिलिन्डर डिलरको भन्दा १५ लाख ४० हजार रुपैयाँ बढी पर्ने भएको छ।

No description available.

मापदण्डविनै ग्यास सिलिन्डर वितरण गर्दा गरिबको बहानामा धनाढ्यलाई पनि किन दिइयो भन्ने प्रश्नमा पालिका अध्यक्ष शुक्लाले भने, ‘पालिकालाई धुँवा मुक्त गरी वातावरण प्रदुषण न्यून गर्ने उद्देश्यले कार्यक्रम शुरु गरेका हौं। कुनै वर्ग वा समुदायलाई र निमुखालाई मात्रै ग्यास बितरण गर्दा बिरोध हुने भएकाले सबै नागरिकलाई वितरण गर्याैं। यसले गर्दा विरोध हुँदैन।’

यस क्षेत्रका अधिकांश नागरिकको जीविकोपार्जन खेती किसानी र ज्याला मजदूरीबाट चल्छ। यस्ता नागरिकले दैनिक बचत परको कुरा मुस्किलले परिवार चलाउँछन्। गाउँपालिकाले ग्यास भरेको सिलिन्डर दिएपछि कतिपयले अझै चुल्हो किनेका छैनन्। गोवरको गुइँठा सुकाएर आगो बाल्ने गरेका छन्। सिलिन्डर पाएपछि चुल्हो किनेकाको पनि ग्यास सकिइसक्यो। तर, अब भर्न भने समस्या भएको छ। ‘ज्याल मजदूरी गरेर परिवार पाल्ने हो। पालिकाले दिएको ग्यास सकियो। अब फेरि भर्ने पैसा छैन। त्यसैले गुइँठा बालेर खाना पकाउँछौं’, स्थानीय भगहु लोनियाले भने।

लोनिया जस्तै यहाँका धेरै गरिब परिवार ग्यास सकिएपछि नयाँ फेर्न आफैँ रकम तिर्नुपर्ने भएकाले ग्याँस प्रयोग गर्न छाडेका छन्। पालिकाको योजना राम्रो भए पनि डिलर मूल्यभन्दा महँगोमा खरिद गर्नु, मापदण्डविनै वितरण गर्नुजस्ता कारणले कतै भ्रष्टाचार त भएको छैन? भन्ने प्रश्न उब्जिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .