ad ad

समाज


पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

नेपालखबर
साउन १, २०७६ बुधबार १०:१७,

यस वर्ष साउन महिनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ।

साउन महिना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले जानकारी दिए। साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ।

साउन महिनाको पनि सोमबार पशुपतिमा धेरै दर्शनार्थी पुग्छन्। प्रायः सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ। वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

तीर्थयात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ। तिलगंगाबाट विद्युतीय शवदाह गृहअघिको सडक–चार शिवालय हुँदै मूल मन्दिरको दक्षिण ढोकातर्फ, जयवागेश्वरीबाट भूवनेश्वरी–वरुणधारा हुँदै दक्षिण ढोकातर्फ, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकातर्फ र मित्रपार्कबाट उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम मूल ढोकातर्फबाट मन्दिर छिर्ने गरी व्यवस्था मिलाइएको उपनिर्देशक ढुंगानाले बताए।

यस वर्ष साउन ६, १३, २० र २७ गरी चार वटा सोमबार परेका छन्। साउनको सोमबार विशेषगरी महिलाले अटल सौभाग्य एवं पारिवारिक सुख र शान्तिको कामना गर्दै व्रत बस्ने र शिवालयमा पूजा आराधना गर्छन्। बोल बम, (साउनको विशेष पूजा)का लागि विश्वभरका वैदिक सनातन धर्मावलम्बी पशुपतिमा आउँछन्।

पशुपतिनाथलाई ज्योतिर्लिंगको पनि ज्योतिर्लिंगका रुपमा पूजिने भएकाले पनि विश्वको जुनसुकै कुनामा रहेका हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्छन्।

आज साउनको पहिलो दिन भएकाले बिहानैदेखि बढी संख्यामा भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनमा आएका छन्। आज साउने सङ्क्रान्तिसमेत भएकाले पनि दर्शनार्थीको पशुपतिनाथ मन्दिरमा भीड बढेको हो। रासस
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .