ad ad

समाज


जनकपुरकाे प्रादेशिक प्रयोगशालामा आर्थिक चलेखल गरी १९ कर्मचारी भर्ना गरेकाे खुलासा

जनकपुरकाे प्रादेशिक प्रयोगशालामा आर्थिक चलेखल गरी १९ कर्मचारी भर्ना गरेकाे खुलासा

शैलेन्द्र महतो
असार ३१, २०७७ बुधबार ४:२५,

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरम आर्थिक चलखेल गरेर १९ जना कर्मचारी गैरकानुनी रुपमा भर्ना गरिएको खुलेको छ।

प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले अवैध तरिकाबाट १९ जना कर्मचारी भर्ना गरी व्यापक अनियमितता गरेको खुलासा भएको हो।

प्रयोगशालाले गएको असार १ गते कार्यालयको भित्तामा सूचना टाँस गरी करारमा २४ कर्मचारीका लागि भर्ना आह्वान गरेको थियो । जसमा ३५ जनाले आवेदन दिएका थिए।

तर निमिति प्रमुख साहले आवेदकसँग लिखित र अन्तर्वाता नै नलिइ मनपरी रुपमा १९ जना कर्मचारी भर्ना गरेका हुन्।

असार मसान्तसम्मको लागि करारमा कर्मचारी भर्ना लिँदा उनले समयअनुसार म्याद थप्ने गरी आवदेन दिएकामध्येबाट १९ कर्मचारी भर्ना लिएका हुन्। जसमा एक जना ल्याब टेकनिशियन, ४ जना कार्यालय सहयोगी, २ जना मेडिकल ल्याब टेक्नलजिस्ट, २ जना ल्याब टेक्निशियन, ३ जना कम्पयुटर अपरेटर, ४ जना सेक्युरिटी गार्ड, २ जना भान्से र स्वीपर छन्।

निमित प्रमुख साहले आवेदकहरुलाई फोन मार्फत बोलाएर पद अनुसार रकम लिएर सिधै हातमा नियुक्ति पत्र थमाइएको कार्यालय स्रोतको जनाएको छ।

स्रोतका अनुसार भर्ना भएकामध्ये केही व्यक्ति पहुँच र पावरको आधारमा सिफारिस भएर आएका हुन् भने धेरैजसोलाई पैसा लिएर निमित प्रमुख साहले नियुक्ति दिएका हुन्।

निमित प्रमुख साहले कर्मचारी भर्ना गर्न रकमको बार्गेनिङ गरेको प्रमाण सुरक्षित रहेको र आवश्यक्ता परे उपलब्ध गराउने दाबी स्रोतले गरेको छ।

कर्मचारी भर्ना हुन आवेदन दिएकामध्ये प्रदिप कुमार दासले आफुले दर्ता नम्बर माग्दा अन्तर्वातामा बोलाउँछु भनेर निमित प्रमुखले फिर्ता पठाएको गुनासो गरे। ‘पछि आवेदन दिएकामध्ये एकजना साथीले मलाई फोन गरेर मलाई जागिर भइसक्यो भनेपछि म झस्किएँ। भित्र केहि न केहि पक्कै गडबड छ,’ उनले भने।

यता कार्यालयकै कर्मचारीले समेत आवश्यक्ता नै नभएपनि निमित प्रमुखले मनोमानी ढंगले कर्मचारी भर्ना गरेको आरोप लगाएका छन्। प्रयोगशालामा भएका कर्मचारीलाई काम गर्न नदिएको र आवश्यक्ता नै नभएका कर्मचारी समेत भर्ना गरिएको प्रयोगशालाका ल्याब टेकनिशियन युगल किशोर यादवले बताए।

‘प्रक्रिया मिचेर कर्मचारी भर्ना गरिएको छ,’ यादवले भने, ‘निमित प्रमुख साहले कार्यालयका अन्य सामग्री बढी मूल्यमा किनेर अनियमितता समेत गर्नुभएको छ।’

प्रयोगशालामा गैरकानुनी तरिकाबाट कर्मचारी भर्ना गरेपछि आवेदकहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन्। प्रशासन कार्यालयले उक्त उजुरीमाथि सुनुवाई गर्दै असार १७ गते कर्मचारी भर्ना सम्बन्धमा स्पष्ट व्यहोरा लेखेर पठाउन प्रयोगशालालाई पत्र समेत पठाएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले प्रयोगशालामा अनियमित रुपमा कर्मचारी भर्ना भएको विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ।

यता निमित कार्यालय प्रमुख साहले रकम र पावरको चलखेलमा कर्मचारी भर्ना गरेको कुरा निराधार रहेको दावी गरे। कोरोना परीक्षणको दर बढाउन सामाजिक विकास मन्त्रालयले कर्मचारी भर्ना गर्न अनुमति दिएको र प्रक्रिया अनुसार नै सूचना प्रकाशित गरी कर्मचारी भर्ना गरेको उनको दाबी छ।

‘मन्त्रालयकै वेबसाइटमा सूचना प्रकाशित गरी आवेदनको लागि तीन दिनको समय तोकिएको थियो। सर्ट लिस्ट गर्यौ। सबैको इन्टरभ्यु लिने मसँग समय थिएन,’ निमित प्रमुख साहले भने, ‘कसलाई छान्ने, नछान्ने मेरो अधिकारको कुरा हो। हिनामिना गर्न नपाएपछि प्रयोगशालाकै कर्मचारीले मेरो विरुद्धमा षडयन्त्र गरेका छन्।’

कार्यलयका कर्मचारीहरुको यस्तै रबैया रहे असारपछि भर्ना गरेका सबै कर्मचारी हटाइदिने भन्दै उनले त्यसो हुँदा कोरोना परीक्षण नै बन्द हुने चेतावनी दिए।

उनले प्रयोगशालालाई सम्बन्धित सरोकारबालाहरुले सहयोग नगरेको र त्यसैको लागि दौडधुप गरिरहेको गुनासो समेत गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .