ad ad

समाज


कास्कीमा भेटियो दुर्लभ प्रजातिको ‘किङ कोब्रा’, लम्बाई १० फिट

कास्कीमा भेटियो दुर्लभ प्रजातिको ‘किङ कोब्रा’, लम्बाई १० फिट

नेपालखबर
असार ३१, २०७७ बुधबार २:५४,

कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ।

घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन्।

काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले जानकारी दिए।

फेला परेको सर्प अन्दाजी १० फिट लामो छ। सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताए। यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन्।

‘अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौँ’, संरक्षण अधिकृत बरालले भने, ‘क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतनाका लागि शिविर सञ्चालन गरेका छौँ।’

किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीले बताएका छन्। यस अवधिमा यो सर्प अन्यत्र टाढा नगएको र गुँडको सुरक्षा गरेर बस्ने गरेको छ।

किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा हुन्। कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो। त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो। यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

यो समुद्री सतहदेखि दुई हजार मिटरदेखि दुई हजार पाँच सय मिटर सम्मको उचाइमा पाइने गरेको पाइन्छ। यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताए।

‘किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ,’ गौतमले भने, ‘यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्छ।’

सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिए। हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .